पाल्पा, पाल्पाको निस्दी गाउँपालिका दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव सम्पन्न भएको छ । ‘कृषि पर्यटन संस्कृति र खेलकुद निस्दीको शान, समृद्ध निस्दी हाम्रो पहिचान’ भन्ने नाराका निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षणमा गत चैत २६ देखि सुरु भएको मेलाको सोमबार विधिवत रुपमा समापन गरिएको हो ।
निस्दी–४, मित्यालको झ्याल्टुङ्ग खेल मैदानमा भएको महोत्सव अन्तर्गत भएका विविध प्रतियोगितात्मक कार्यक्रमका विजेताहरुलाई पुरस्कार वितरण गर्दै मेलाको समापन गरिएको हो । महोत्सव मूल आयोजक समितिका संयोजक उमेश कुमार गाहाको अध्यक्षतामा भएको कार्यक्रम प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरेको प्रमुख आतिथ्यतामा भएको थियो । अन्तरपालिका स्तरीय पुरुष भलिबल र निस्दी डान्स आईडलमा विजेतालाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथी गैरेले मुलुकको व्यवस्था परिवर्तनका कुरा अाईरहेको सन्दर्भमा देशको सर्वभौम अधिकार नेपाली जनतामा अन्तरनिहित रहेको र जनताको अधिकार कसैले चाहादै खोस्न नदिने बताउनुभयो । उहाँले खोस्न सक्ने परिस्थिति बन्न दिने बताउनुभयो ।
विकासको लागि पर्याप्त बजेट विनियोजित भए पनि समयमा काम सम्पन्न नहुने र भैहाले पनि गुणस्तरी काम नहुँदा जनतामा निरासा छाएको भन्दै सरोकारवालाहरुले विशेष ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । अब यो देशमा बसेर केही हुने वाला हुने छैन विदेश नै जानु पर्छ भन्ने सञ्चार भैरहेको प्रति दुख व्यक्त गर्दै नकारात्मक प्रचारको पछि लागेर भ्रमित हुनु पर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । महोत्सवले पालिकाको पहिचानमा थप टेवा दिएको जानकारी गराउनुभयो । जापानिज नागरिक समाजसेवी काजुमासा काकिमी अोके बाजेले आफ्नो गाउँ र ठाउँको पहिचाको लागि स्थानिय स्तरमा कार्यक्रम हुनु खुशीको कुरा भएको बताउनुभयो ।
स्थानीय उत्पादनको बजारीकरण, पर्यटन तथा संस्कृतिको प्रवद्र्धन र खेलकदुको विकासका लागि भएको महोत्सव सबैको साथ र सहयोगले सफल भएको मुल आयोजक समितिका संयोजक उमेश कुमार गाहाले बताउनुभयो । ८ दिन सम्म भएको मेलाको आकर्षणको रुपमा परम्परागत कुँडले घरको नमुना, स्थानीय कृषि उपज तथा हस्तकलाका सामाग्रीको बिक्री तथा प्रदर्शनी, मौलिक खानाका परिकार, सांस्कृतिक झाँकी प्रदर्शन, अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल, दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुति, निस्दी डान्स आईडल र बालउद्यान रहेको थियो ।
मेला अन्तर्गत भएको प्रथम निस्दी डान्स आइडलमा विजेता सृष्टि सुनारी, फष्ट रनर अप राधु बयाम्बु र सोनु खण्डलुक, सेकेण्ड रनर अप रोशनी परियार, थर्ड रनर अप अरिस्मा नेपाली हुनु भएको छ । योजना गाहा र सुनिता ठाडा टप फाइभमा पर्न सफल भएको थियो । मेला समापनको दिन सोमबार राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका पूर्व अध्यक्ष बद्री पंगेनी, गायक रवि रिमाल, गायिका सम्झना रनपाल र मोडल जुना कार्कीको बेजोड सांगितिक प्रस्तुति रहेको थियो ।
समापनको अवसरमा विभिन्न व्यक्ति तथा संघ संस्थालाई सम्मान गरिएको थियो ।कार्यक्रमको सञ्चालन गायक एवं प्रस्तोता दिप काफ्ले र निस्दी खेलकुद विकास समितिका सहसचिव होम राई मगरले गर्नु भएको हो ।