रामघाटमा निर्माण भएको आश्रमको उट्घाटन

पाल्पा, रामपुर नगरपालिका–५, स्थित धार्मिक एवं ऐतिहासिक स्थल रामघाटमा आश्रमको उट्घाटन गरिएको छ । तीर्थयात्रीहरुको लागि लक्ष्मीनारायण गुठी सञ्चालन संस्था द्वारा सञ्चालित राम लक्ष्मण तीर्थस्थल रामघाटमा निर्माण भएको आश्रमको बुधबार उट्घाटन गरिएको हो ।

रामनवमीको अवसरमा विविध धार्मिक कार्यक्रमका विच आश्रम भवन उट्घाटन गरिएको हो । लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाका अध्यक्ष बुद्धि प्रकाश रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाको प्रमुख आतथ्यतामा भएको थियो । आश्रमको उट्घाटन गर्दै प्रमुख अतिथी थापाले भगवान राम संग जोडिएको रामपुर आफैमा पुण्यभूमि रहेको बताउनुभयो । तीर्थयात्राका लागि रामपुर आउनुहुने श्रद्धालु भक्तजनलाई आश्रम सञ्चालन संगै थप सहज हुने बताउनुभयो । याहाँ रहेको रामघाट, राममन्दिर, सीताकुण्ड, राम्चे वन, रामकुवा लगाएतको धार्मिक स्थलको प्रवद्र्धनका लागि नगरपालिकाले पहल गर्दै आएको बताउनुभयो ।

रामघाट जाने सडक पूर्वधारको स्तरोन्नतिको कार्य भैरहेको भन्दै रामघाटमा निर्माण भएको धर्म आश्रम तथा जेष्ठ नागरिक मिलन केन्द्रलाई व्यवस्थित गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । जेष्ठ नागरिकहरुको लागि घर देखि मिलन केन्द्र सम्म आउन जान बस सेवा सञ्चालन गर्ने तथा स्वास्थ्य सेवाको व्यवस्था गरिने प्रतिवद्धता जनाउनुभयो । रामपुर–५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले आश्रम सञ्चालन संगै रामपुरकोे धार्मिक पर्यटन थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । रामघाट सिङ्गो कालीगण्डकी वेशी क्षेत्रको महत्वपूर्ण धार्मिक स्थल रहेको भन्दै सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाका अध्यक्ष बुद्धि प्रकाश रेग्मीले आश्रममा तीर्थयात्रीहरुका लागि निःशुल्क बास सहित न्यूनतम शुल्कमा खाना र नास्ताको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले संघीय सरकारको २५ लाख, लुम्बिनी प्रदेश सरकारको पाँच लाख, रामपुर नगरपालिकाको छ लाख र स्थानीयको चन्दा सहयोग गरी ५८ लाखको लागतमा आश्रम सञ्चालन गरिएको बताउनुभयो । रामघाटमा निर्माण भएको धर्म आश्रम पनि छिट्टै सञ्चालनको तयारीमा रहेको जानकारी दिदै संस्थाले गुरुयोजना अनुसार रामघाटको क्षेत्रमा पूर्वाधार निर्माण कार्यलाई अघि बढाएको बताउनुभयो । आश्रममा ३० देखि ४० जना सम्मलाई बस्ने व्यवस्था मिलाईएको छ ।

लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाका उपाध्यक्ष कृतिनाथ श्रेष्ठको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव मिनराज रेग्मीले गर्नु भएको हो । दुई सय वर्षअगाडि निर्माण भएको लक्ष्मीनारायण मन्दिरमा आज विहानै देखि पुजा आरधनाका लागि श्रद्धालुहरुको बाक्लो उपस्थिति रहेको थियो । कालीगण्डकीमा स्नान गरी मन्दिरमा पुजा गर्नेहरुको घुईचो लागेको थियो । रामघाटमा स्थानीय तुल्सीराम रेग्मीलाई राति सपनामा भगवान् रामले रामघाट क्षेत्रमा लक्ष्मीनारायण मन्दिर स्थापना गरेर दिनहुँ पूजाआजा गर्न दर्शन दिएपछि विसं १८८९ मा मन्दिर स्थापना गर्नुभएको इतिहास रहेको छ । त्यस पश्चात जिर्ण रहेको मन्दिरको जिर्णउद्धार गरिए पनि २०७२ सालमा भुकम्पले क्षति गरेपछि पुरानै शैलीमा पुनः निर्माण गरिएको थियो ।

आश्रम उट्घाटन संगै लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाले रामघाट, राममन्दिर, राम्चे वन र रामकुवा लगाएतका स्थानमा भजन कृतन सहित कलश यात्रा निकालेको थियो । महिला समुह, क्लव तथा याहाँका विभिन्न संघ संस्थाको उपस्थितिमा रामनवमीको अवसर पारेर भगवान रामपुर क्षेत्रको धार्मिकको प्रवद्र्धनका लागि कलश यात्रा गरेको हो । साथै मन्दिरमा जाने भक्तजनहरुलाई मन्दिर परिसरमा र कोइलटारीमा खुदो पानीको व्यवस्था गरिएको थियो । मन्दिरमा अहिले साँझ लाख बत्ती बाल्नुका साथै गंगा आरती भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?