रामपुरमा जेष्ठ नागरिकको अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

पाल्पा,जेष्ठ नागरिकहरुका संवैधानिक, कानुनी अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम रामपुरमा सम्पन्न भएको छ । सामाजिक विकास डिभिजन कार्यालय, तानसेन, पाल्पाको आयोजना र जेष्ठ नागरिक संघ पाल्पाको समन्वयमा शुक्रबार रामपुरमा कार्यक्रम भएको हो ।

नमस्ते पाल्पा होटलको सभाहलमा भएको कार्यक्रम सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख मित्र प्रसाद गौतमको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमको उट्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले नयाँ पुस्तामा नैतिक शिक्षा शिक्षाको अभाव हुँदा जेष्ठ नागरिकको उचित सम्मान हुन नसकेको बताउनुभयो । उहाँले पश्चिमा संस्कृति र प्रविधिको विकासका कारण जेष्ठ नागरिकले आफ्ना समस्या र अनुभव सात्ने अवसर नपाएको बताउनुभयो । नयाँ पुस्ता भौतिक सुखमा केन्द्रित हुँदै गर्दा जेष्ठ नागरिक हेला पर्ने गरेको भन्दै नैतिक शिक्षाको आवश्यकता रहेको बताउनुभयो । लुम्बिनी प्रदेश जेष्ठ नागरिक सम्बन्धी कानुन निर्माणको क्रममा रहेको उहाँले बताउनुभयो ।

रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले जेष्ठ नागरिकले आफ्ना दौतरी संग भेट्न, खुलेर अनुभव साट्न तथा आफ्ना सन्तान संग समय विताउन नपाएको बताउनुभयो । जेष्ठ नागरिकको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले जेष्ठ नागरिक स्कुल सञ्चालनको तयारी गरेको जानकारी दिनुभयो । नगर भित्रका जेष्ठ नागरिक नागरिकहरुलाई आउन जाने व्यवस्था सहित जेष्ठ नागरिक स्कुलमा कुराकानी गर्ने, भजन कृतन सहित धार्मिक पुस्तक अध्ययन गर्ने वातावरण तयार गरिने बताउनुभयो । उहाँले जेष्ठ नागरिक समाजको अमुल्य गहना रहेको भन्दै संस्कार र संस्कृति संगै जेष्ठ नागरिकको अनुभव बाट धेरै कुरा सिक्न सकिने बताउनुभयो ।

जेष्ठ नागरिक संघ पाल्पाका सभापति देवराज ढकालले जेष्ठ नागरिकहरुलाई भेटघाट भएर भलाकुसारी गर्ने वातावरण तयार गर्नु तत्कालको अवश्यकता रहेको बताउनुभयो । उहाँले जेष्ठ नागरिकहरुको स्वास्थ्य सेवामा सहजताका लागि संघ लागि परेको बताउनुभयो । सामाजिक विकास डिभिजन कार्यालय, तानसेनका प्रमुख मित्र प्रसाद गौतमले जेष्ठ नागरिकको पहुँच अभिवृद्धिका लागि रामपुरमा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरुले आफ्ना विगतका अनुभव सहित समस्याको विषयमा अवगत गराएका थिए । जेष्ठ नागरिक लेखनाथ पोखरेल, लक्ष्मण भण्डारी, टुङ्गराज पौडेल, प्रेम बहादुर पोखरेल, किर्तिनाथ रेग्मी, बाबुराम तिमिल्सिना, कृष्ण प्रसाद अर्याल, बाबुराम न्यौपाने लगाएतले नयाँ पुस्ताले सुझाव र सल्लाह लिन छाडेको, स्वास्थ्य सेवा लिनको लागि लाइनमा बस्नु परेको समस्या व्यक्त गर्नु भएको थियो ।

रामपुर नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले जेष्ठ नागरिकहरुका लागि संविधानले गरेको व्यवस्था, कानुनी अधिकार र कार्यान्वयनको अवस्था लगाएतका विषयमा अभिमुखीकरण प्रदान गर्नु भएको थियो । सामाजिक विकास डिभिजन कार्यालय, तानसेनका लेखा अधिकृत जनार्दन लोधको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन जेष्ठ नागरिक संघ पाल्पाका सदस्य केशवराज पंगेनीले गर्नु भएको हो । कार्यक्रममा रामपुर नगरपालिका, निस्दी गाउँपालिका, रम्भा गाउँपालिका, पूर्वखोला गाउँपालिका लगाएतका स्थानका जेष्ठ नागरिकहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?