पाल्पा ,व्यक्तिगत घटना दर्ता सम्बन्धि सचेतना कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । नेपाल सरकारको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार रामपुर नगरपालिका वडा नं.२ पाल्पामा घटना दर्ता सम्बन्धि सचेतना कार्यक्रम भएको हो ।
रामपुर नगरपालिका २ नं. वडा कार्यालयको आयोजना र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा वडा नं. २ को वडा कार्यालयमा सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले हरेक व्यक्तिगत घटना ३५ दिन भित्रै गरि सक्न आग्रह गर्नु भएको छ । हरेक अभिलेख राख्नका लागि गरिने व्यक्तिगत घटना दर्ताले हरेक तह र समग्र देशैभरको योजना , नीति तथा कार्यक्रम तय गर्न सजिलो हुने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका वडा नं. २ का अध्यक्ष कृष्ण बहादुर दर्जीले हरेक घर , गाँउ टोलका प्रत्येक व्यक्तिले अनिवार्य रुपमा घटना दर्ता गर्नु पर्ने बताउनुभयो । साथै हरेक बालबालिकाले जुनसुकै अवस्थामा जन्मदर्ता पाउनु पर्ने नैसर्गिक अधिकार भएको भन्दै विभिन्न कारणले जन्मदर्ता नपाएका बालबालिकाको आफु सुचक बसेर जन्मदर्ता गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै रामपुर नगरपालिकाका योजना शाखा प्रमुख विक्रम बस्नेतले विकास निर्माणका योजना र हरेक कार्यक्रम तय गर्नका लागि घटना दर्ताको महत्वपूर्ण भूमिका रहने भन्दै कानुनको बर्खिलाप नगरी समयमै घटना दर्ता गर्न आवश्यक रहेको औँल्याउनुभयो ।
कार्यक्रममा सहभागिहरुले जन्म दर्ता , विवहा दर्ता , बसाई सराई ,सम्बन्ध विच्छेद र मृत्यू दर्ता सम्बन्धि विभिन्न जिज्ञासा राखेका थिए । रामपुर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष कृष्ण बहादुर दर्जीको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख प्रशसकीय अधिकृत सुर्य दर्शन पण्डितको प्रमुख आतिथ्यामा सम्पन्न भएको हो । रामपुर नगरपालिका पञ्जिकरण शाखा प्रमुख प्रतिमा घिमिरेको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिव तारानाथ पोखरेलले गर्नु भएको थियो ।