पाल्पामा शुक्रबार दुई स्थानमा दुर्घटना हुँदा १३ जना घाइते

पाल्पा, पाल्पामा शुक्रबार छुट्टाछुट्टै दुई स्थानमा सवारी दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । रम्भा गाउँपालिका–१, असर्दीमा कार र मोटरसाइकल ठोक्किँदा दुई जना र निस्दी गाउँपालिका–३ खादरमा जिप दुर्घटना हुँदा ११ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

कालीगण्डकी करिडोर अन्तर्गत रामपुर बाट बुटवल तर्फ जाँदै गरेको बा ११ च ६४४९ नम्बरको कार र विपरित दिशा बाट आउँदै गरेको लु ४१ प ४४७ नम्बरको मोटरसाइकल शुक्रबार अपरान्ह ठोक्कीँदा मोटर साईकलमा सवार दुई जना घाइते भएको थियो । घाइते हुनेहरुमा मोटरसाइकल चालक रामपुर–५ का २० वर्षीय सन्दिप सेन ठकुरी र मोटरसाइकलको पछाडी सवार रामपुर १ का ६५ वर्षीय मन बहादुर खाँण घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घाइते मध्ये चालक सेनको अवस्था सिरियस रहेको छ भने खाँणको अवस्था मध्ययम रहेको उहाँले बताउनुभयो । उनीहरुलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज पठाईएको प्रहरीले जनाएको छ ।

त्यस्तै निस्दी गाउँपालिका–३ खादर बाट सहलकोट तर्फ जन्ती लिएर जाँदै गरेको लु १ ज २५३५ नम्बरको मुस्ताङ जिप खादर स्थित भित्री कच्ची सडकमा दुर्घटना भएको थियो । शुक्रबार साँझ ९ बजे सडकमा पल्टिएर जिप दुर्घटनामा भएको प्रहरीले जनाएको छ । घाईते हुनेहरुमा निस्दी २ सहलकोटका ११ वर्षिय कृष्ण राना, सोही ठाउँका २० वर्षीय केशरी मश्राङ्गी, ३० वर्षीय टिका बहादुर अस्लामी, ३० वर्षीय मोहन राना, ३२ वर्षीय दरिसा राना, दरिसा रानाको छोरी ७ वर्षीय रोमी राना, १७ वर्षीय कृतिमा सुनार, ६५ वर्षीय सन्त बहादुर राना, ३२ वर्षीय नेत्रा राना, १६ वर्षीय तिलिसरा राना र हुप्सेकोट गाउँपालिका २ नवलपुरका ९ वर्षीय प्रसन्ना राना सामान्य घाइते भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । जिपमा सवार मध्ये ७ जना सकुशल रहेका छन् । चालक फरार रहेको र खोजी भैरहेको प्रहरीले जनाएको छ ।

जिप दुर्घटनाका घाइतेहरु रामपुर अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?