आगलागीबाट निस्दी-२, पुरान्थरको एक घरमा क्षति

पाल्पा, जिल्लाको निस्दी गाउँपालिका–२, सहलकोटको पुरान्थरमा आगलागी बाट एक घर जलेर नष्ट भएको छ । मंगलबार दिउँसो भएको आगलागी बाट स्थानीय गणेश वि.क. (टिकाराम) को घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

दिउँसो साढे १ बजे आगलागी हुँदा उहाँको घर संगै रहेको गोठ र आरन घरमा समेत क्षति भएको निस्दी गाउँपालिका कार्यपालिका सदस्य खुमी सरा पुलामीले बताउनुभयो । आगोले घर भित्र रहेको अन्न, लत्ताकपडा र भाँडाकुडा सबै जलेको छ । त्यस्तै आगलागीले छिमेकी लाल बहादुर वि.क.को घरमा समेत आंशिक क्षति भएको उहाँले बताउनुभयो ।

दिउँसो लागेको आगो साँझ ६ बजे मात्र नियन्त्रणमा आएको निस्दी–२ का वडा अध्यक्ष फत्ते सिं दर्लामीले बताउनुभयो । निस्दी-२ को पुरान्थर, कोटथर, शेरडाँडा र लिन्दीका स्थानीयले आगो नियन्त्रणमा लिएको हो । आगोलागी बाट पिडित परिवारलाई तत्कालको लागि त्रिपाल र खाद्यान्न उपलब्ध गराएको वडा अध्यक्ष दर्लामीले जानकारी दिनुभयो । पालिका संग समन्वय गरी राहतको लागि आवश्यक पहल गर्ने उहाँले बताउनुभयो । आगलागी बाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

 

तस्विर:- प्रेम बाकाबलको फेसबुक बाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?