पाल्पा, दलित समुदायको हक अधिकार सम्बन्धी कानुनी सचेतना कार्यक्रम रामपुरमा सम्पन्न भएको छ । दलित वर्ग उत्थान समन्वय समिति रामपुर नगरपालिका पाल्पाको आयोजना र रामपुर नगरपालिकाको सहयोगमा एक दिने कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको एक कार्यक्रमका विच उट्घाटन गरिएको थियो । दलित वर्ग उत्थान समन्वय समिति रामपुरका अध्यक्ष धन बहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमको शुभारम्भ गर्दै प्रमु्ख अतिथी थापाले समाजमा जातिय विभेद विगतको तुलनामा कम भए पनि अन्त्य नभएको बताउनुभयो । उहाँले जातिय विभेदका अन्त्यका लागि एकता बद्ध भएर लाग्नु आवश्यक रहेको बताउनुभयो । उहाँले समुदाय भित्रको विभेद् अन्त्यका लागि आत्मविश्वासका साथ प्रतिस्पर्धामा आउने वातावरण सृजना गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
थापाले समुदायलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाउन सचेतना संगै सीप मुलक कार्यक्रम सञ्चालन गर्नु अपरिहार्य रहेको बताउनुभयो । समुदायको उत्थान र विभेद्को अन्त्यका लागि नगरपालिका साथमा रहेको बताउनुभयो । नेपाल बार एशोसिएसन पाल्पाका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता जोग बहादुर विश्वकर्माले दलित समुदायको लागि कानुनले गरेको व्यवस्था, कार्यान्वयनको अवस्थाको बारेमा जानकारी गराउनुभयो । उहाँले दलित समुदायको उत्थानका लागि कानुनमा व्यवस्था गरे पनि राज्यले कार्यान्वयन गर्न नसकेको भन्दै राष्ट्रिय दलित आयोगले राज्यका निकायलाई निर्देशन दिनु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा अभियन्ता राजेन्द्र विश्वकर्माले दलित समुदायले समाजमा भोगेको व्यवहारिक समस्या संगै समाधानको विषयमा जानकारी गराउनु भएको थियो । दलित वर्ग उत्थान समन्वय समिति रामपुरका सल्लाहाकार अर्जुन सुनारको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सदस्य रमेश सुनारले गर्नुभएको हो ।