अर्जुन बोटे बचाउ अभियान बाट संकलन भएको रकम हस्तान्तरण

पाल्पा, जनज्योति युवा क्लव रामपुर नगरपालिका ३ गण्डकी ढिक बोटेगाउले अर्जुन बोटे बचाउ अभियान बाट संकलन भएको रकम हस्तान्तरण गरेको छ । गण्डकीढिक बोटेगाउँ निवासी ३३ वर्षिय अर्जुन बोटेको उपचारको लागि आर्थिक अभाव भए पछि युवाहरुले अभियान सञ्चालन गरेको थियो ।

स्वदेश तथा प्रवासमा रहनु भएका नेपालीहरु मार्फत संकलन भएको नगद दुई लाख सतासी हजार तीन सय एक रुपैयाँ परिवारलाई प्रदान गरिएको हो । ज्याला मजदुरीको क्रममा गत चैत १६ गते शुक्रबारका दिन आफ्नै आफन्तको घर पलाष्टारको क्रममा एक्कासी उच्च रक्तचापका कारण शरीरको आधा भागले काम गर्न छाडेको थियो । टाउकोमा रगत जमेकाले शल्यक्रिया गरिएको थियो । उपचारमा आर्थिक अभाव भए पछि समाजसेवी खगेस्वर बोटे (पाल्पाली कान्छा) को नेतृत्वमा सामाजिक सञ्जाल मार्फत अर्जुन बोटे बचाउ अभियान सञ्चालन गरिएको थियो ।

सेवा नै धर्म हो भन्ने मुल नाराका साथ सञ्चालन गरिएको अभियान बाट संकलन भएको रकम जनज्योति युवा क्लवका अध्यक्ष एवं अभियानका सह–संयोजक ऋतुदास अर्यालले हस्तान्तरण गर्नु भएको हो । क्लवका पदाधिकारी, समाजका अग्रज व्यत्तित्वहरुको उपस्थितिमा सहयोग हस्तान्तरण गर्नु भएको हो । पिडित अर्जुन बोटेका भाई अजय बोटे साथ र सहयोगको लागि अभियानमा जोडिनुहुने सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । अभियान सञ्चालनको २७ दिन मै दुई लाख सतासी हजार तीन सय एक रुपैयाँ संकलन भएको क्लवका अध्यक्ष ऋतुदास अर्यालले बताउनु भयो । अभियानका संयोजक पाल्पाली कान्छाले अभियानमा साथ दिनुहुने सम्पूर्ण व्यक्तित्वहरु प्रति आभार व्यक्त गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?