पिपल भञ्ज्याङ्गमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

पाल्पा, निस्दी गाउँपालिका–५, पिपल भञ्ज्याङ्गमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जुनतारा समाज पिपल भञ्ज्याङ्ग र रोटरी क्लव अफ रामपुर पाल्पाको संयुक्त आयोजना तथा पाल्पा मेट्रोसिटी हस्पिटल प्रा.लि.रामपुर पाल्पाको प्राविधि सहयोगमा शिविर भएको हो ।

शिविरको शुभारम्भ गर्दै निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले ग्रामीण क्षेत्रका जनताको स्वास्थ्य सुविधाको लागि शिविर सञ्चालन गरेकोमा धन्यवाद दिदै समयमै रोगको पहिचान गरी निराकरण गर्न शिविरले सहयोग गर्ने बताउनुभयो । उहाँले स्वास्थ्य सेवामा जनताको सहजताका लागि पालिकाले आवश्यक पहल गर्दै आईरहेको जानकारी दिनुभयो ।  निस्दी गाउँपालिकाका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले स्वास्थ्य सेवालाई थप सहज बनाउन शिविरले महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । जापानिज नागरिक काजुमासा काकिमी ओके बाजेले मानिसको सबैभन्दा ठूलो कुरा स्वास्थ्य रहेको भन्दै चिकित्सकको सल्लाह अनुसार स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

रोटरी क्लव अफ रामपुरका प्रेसिडेण्ड सागर प्रसाद देवकोटाले क्लवले विभिन्न संघ संस्थाको समन्वयमा स्वास्थ्य सेवा संगै सामाजिक क्षेत्रमा कार्य गर्दै आईरहेको बताउनुभयो । याहाँका नागरिकहरुको सहजताको लागि शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । पाल्पा मेट्रोसिटी हस्पिटल प्रा.लि.का निर्देशक मनिषा सेन्चुरीले शिविर मार्फत महिला तथा प्रसुती रोग सेवा, जनरल फिजिसियन सेवा, भिडियो एक्सरे सेवा, इसिजि सेवा, मधुमेह जाँच र निशुल्क औषधी वितरण सेवा प्रदान गरिएको जानकारी दिनुभयो ।

जुनतारा समाजका अध्यक्ष तिल बहादुर राक्सेको अध्यक्षतामा भएको कार्यक्रम पूर्व अध्यक्ष नुन बहादुर सारुको स्वागत र सदस्य लेख बहादुर बाह्रघरेको सञ्चालनमा भएको हो ।  जनता आधारभूत विद्यालयको प्राङ्गणमा भएको शिविर मार्फत निस्दी गाउँपालिका वडा नं. ४ र ५ लगाएत विभिन्न स्थानका ३ सय १५ जना नागरिकले सेवा लिएको पाल्पा मेट्रोसिटी हस्पिटल प्रा.लि.का सञ्चालक डाक्टर भिमसेन सुनारले जानकारी दिनुभयो ।

परीक्षणको क्रममा २० प्रतिशत नागरिकमा उच्च रक्तचाप, ३० प्रतिशत बढीमा मधुमेह, १० प्रतिशतमा पेट सम्बन्धी समस्या देखिएको उहाँले जानकारी दिनुभयो । जटिल समस्याका विरामीलाई पाल्पा मेट्रो सिटी हस्पिटलमा न्यूनतम शुल्कमा सेवा प्रदान गरिने उहाँले जानकारी दिनुभयो । शिविरमा डा. भिमसेन सुनार संगै डा. रमेश यादव, डा. सञ्जिव रावल र डा. कामना धौवञ्जर सहितका स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गर्नु भएको थियो । शिविरमा जनप्रतिनिधि, रोटरी क्लव अफ रामपुरका पूर्व अध्यक्ष रुद्र नारायण श्रेष्ठ सहित रोटरीयनहरु र जुनतारा समाजका सदस्यहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?