एक महिने हस्तकलाका सामाग्री उत्पादन तालिम रामपुरमा सुरु

पाल्पा, महिला दिदीबहिनीहरुका लागि एक महिने हस्तकलाका सामाग्री उत्पादन सम्बन्धी तालिम रामपुर नगरपालिकामा सुरु भएको छ । रामपुर नगरपालिकाको आयोजना र ओम राजश्री मल्टी एग्रो प्रा.लि. काठमाडौको प्राविधिक सहयोगमा प्राकृतिक रेशाजन्य वनस्पतीको पोस्करबाट हस्तकलाका सामाग्री उत्पादन सम्बन्धी तालिम सुरु भएको हो ।

जस अन्तर्गत महिला दिदीबहिनीहरुलाई थाकलको पात र मकैको खोस्टा बाट हाते झोला, टोपी, पर्स लगाएतका विभिन्न सामग्रीहरु बनाउन सिकाइने छ । तालिमको उट्घाटन गर्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले महिला दिदीबहिनीहरुलाई उद्यमी बनाई आयआर्जन वृद्धि गर्न तालिमको आयोजना गरिएको बताउनुभयो । देशका प्राय उद्योग विदेशी कच्चा पदार्थमा आधारित रहेको र त्यसलाई नै प्रबद्र्धन गरिरहेको भन्दै उहाँले स्वदेशी उत्पादन र वातावरणमैत्री उत्पादनमा बढावा दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

   नगर प्रमुख थापाले नगरपालिकाले विभिन्न तालिम संचालनका लागि धेरै लगानी गरे पनि लगानी अनुसारको काम नगरेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले महिला दिदीबहिनीहरुलाई नगरपालिकाले गौरव गर्ने वातावरण सिर्जना हुने गरी उद्यमी बन्न आग्रह गर्नु भएको छ । रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारिकरणको व्यवस्था नगरपालिकाले गर्ने बताउनु भएको छ । नगरपालिकाले गर्ने विभिन्न कार्यक्रममा स्थानीय उत्पादनको प्रयोगमा जोड दिने बताउनुभयो । साथै उपप्रमुख कोशेली घर कार्यक्रम मार्फत उत्पादित बस्तुको खरिद विक्रीको व्यवस्था गरिने उल्लेख गर्नभयो ।

नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत पुनम धितालले व्यवसाय सञ्चालन गर्न सक्ने गरी सिप सिक्न आग्रह गर्नुभयो । आर्थिक विकास समितिका संयोजक दुर्गादेवि भण्डारी गौतमले फालिएर जाने पात र खोस्ताको सदुपयोग संगै आयआर्जनका लागि तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा ओम राजश्री मल्टी एग्रो प्रा.लि. काठमाण्डौका कार्यकारी निर्देशक युवराज गैरेले उद्यमशिलताको परिवर्तन र उत्पादको प्रवद्र्धन गर्न आवश्यक रहेको भन्दै तालिम पश्चात महिला दिदीबहिनीले सामाग्री उत्पादन गरे बजारीकरणको सम्पूर्ण व्यवस्था संस्थाले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको अध्यक्षतामा भएको तालिम उट्घाटन कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । आर्थिक विकास समितका संयोजक दुर्गादेवि भण्डारी गौतमको स्वागत बाट शुरु भएको कार्यक्रमको संचालन ओम राजश्री मल्टी एग्रो प्रा.लि. काठमाण्डौका कार्यकारी निर्देशक युवराज गैरेले गर्नु भएको थियो । ३० दिन सम्म चल्ने तालिममा नगरपालिका भित्रका ४७ जना महिला दिदी बहिनीहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?