मन्त्री पन्थी द्वारा आगलागी प्रभावित बस्तीको निरीक्षण

पाल्पा, लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले रामपुर ४ र ५ को आगलागी प्रभावित बस्तीको निरीक्षण गर्नु भएको छ । सोमबार वडा नं. ४ को समाङसिङ र वडा नं. ५ को गैरा गाउँ पुगेर आगोले क्षति गरेको बस्तीको निरीक्षण गर्नु भएको हो ।

अग्नी पिडित स्थानीय संग कुरा गर्दै उहाँले तत्कालका लागि अस्थायी आवास निर्माण गर्न आवश्यक सहयोग पिडित सम्म पठाउन प्रदेश सरकार लागि रहेको बताउनुभयो । तीनै तहको सरकार साथमा रहेको भन्दै अग्नीपिडित परिवारलाई नआत्तिन आग्रह गर्नुभयो । स्थानीय सरकारहरु पिडितहरुको राहत व्यवस्थापनका लागि खटिरहेको अवस्थामा प्रदेश सरकार साथमा छ है भन्ने अनुभुति दिलाउन निरीक्षणमा खटिएको बताउनुभयो । राहतको प्रक्रियालाई छिटो पुरा गर्न सरकारी संयन्त्रलाई परिचालन गरिएको जानकारी दिनुभयो । तत्कालका लागि अस्थायी बसोबासको व्यवस्था गर्ने र स्थायी सुरक्षित बसोबासका लागि केही समय लाग्ने भएपनि छिटो उपलब्ध गराउन पहल भैरहेको बताउनुभयो ।

प्रदेश सरकारले तत्कालको लागि ५० हजार राहत उपलब्ध गराउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘सबै भन्दा छिटो पिडित पक्षले राहत प्राप्त गरोस् भन्नेमा सरकार चनाखो छ । सरकारी संयन्त्रहरुलाई त्यहि हिसाबले परिचालन गरेका छौं ।’ उहाँले भन्नुभयो । आगलागीले प्रभावित बनाएको बस्तीमा मन्त्री पन्थी संगै लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारु सहित पुग्नु भएको थियो । रामपुर नगरपालिका–५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले आगलागी बाट भएको क्षति र नगरपालिकाले थालेको पहलको बारेमा जानकारी गराउनु भएको थियो ।

गत बैशाख १९ गते जंगल बाट आएको डढेलो बस्तीमा पसेपछि रामपुर ४ समाङसिङ र ५ को गैरा गाउँमा पाँच वटा घर, आठ वटा गोठमा पूर्ण क्षति भएको थियो । डढेलोले पशुचौपाया तथा कुखुराहरु पनि नष्ट गरेको थियो । मन्त्री पन्थीले सोमबार नै पूर्वखोला गाउँपालिका वडा नं. ६ हेक्लाङको अग्नी प्रभावित क्षेत्रको निरिक्षण गर्नु भएको छ । पाल्पाको रामपुर संगै पूर्वखोला, माथागढी, रैनादेवी छहरा लगाएका स्थानमा आगोलागीले क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पामा आगोलागी बाट गत साउन देखि हाल सम्म ४५ वटा घर र ६८ वटा गोठमा क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?