रामपुरमा अग्नी पीडित परिवारलाई राहत प्रदान

पाल्पा, जिल्ला प्रशासन कार्यालय पाल्पाले अग्नी पीडित परिवारलाई राहत प्रदान गरेको छ । विपद् व्यवस्थापन कोष मार्फत आगलागीले पूर्णरुपमा घर क्षति भएका पिडितहरुलाई तत्कालको लागि राहत रकम प्रदान गरेको हो ।

कार्यालयले बुधबार रामपुर नगरपालिका वडा नं. ४ र ५ का ६ घर र पूर्वखोला गाउँपालिका वडा नं. ६ का ९ घर परिवारलाई राहत रकम प्रदान गरेको हो । रामपुर नगरपालिका भित्रका पिडितहरुलाई वडा नं. ४ र ५ मा छुट्टा छुटै कार्यक्रम गरी राहत रकम प्रदान गरिएको थियो । गत वैशाख १९ गते वनमा सल्किएको डढेलो वडा नं. ५ गैराको ३ घरमा पूर्ण क्षति पुगेको थियो । प्रमुख जिल्ला अधिकारी अानन्द काफ्लेले जिल्ला अदालत पाल्पाका न्यायाधीश दल बहादुर के.सी., रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकिय अधिकृत सूर्य दर्शन पण्डित, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवं जनप्रतिनिधिहरुको उपस्थितिमा राहत रकम १५/१५ हजार प्रदान गर्नु भएको हो । प्रमुख जिल्ला अधिकारी काफ्लेले नागरिकको पीडामा सरकार पनि साथ मै छ है भन्ने अनुभुति दिलाउनुका साथै अत्यावश्यक सामाग्री व्यवस्थापनमा सहजताका लागि राहत रकम प्रदान गरिएको बताउनुभयो । उहाँले विगतका वर्षहरुको तुलनामा जिल्लामा यस वर्ष आगलागीको घटना वृद्धि भएको भन्दै आगामी दिनमा जोखिम न्यूनिकरणका लागि सबै जना सचेत हुनु आवश्यक रहेको बताउनुभयो । साथै उहाँले पूर्ण रुपमा क्षति भएका नागरिकको आवास निर्माणका लागि सरकारले तीन किस्तामा गरी रकम प्रदान गर्ने भएकाले आवास निर्माणका लागि यथाशिघ्र सम्बिन्धित पालिकामा निवेदन दिन आग्रह  गर्नुभयो ।

वडा नं.५ को कार्यालयमा भएको राहत वितरण कार्यक्रमा वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले अग्नी पीडित नागरिकहरुको राहतका लागि भएका प्रयासको बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै वडा नं. ४ को समाङसिङ र गिजिनडाँडाका ३ परिवारलाई वडा नं. ४ देविस्थानमा राहत प्रदान गरिएको थियो । वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर रानाको अध्यक्षतामा कार्यक्रम गरी सरोकारवालाहरुको उपस्थितिमा प्रशासनले राहत प्रदान गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष रानाले पिडित परिवारको सहयोगका लागि टोलविकास समितिहरुलाई समेत आग्रह गरिएको जानकारी दिनुभयो ।

कार्यक्रमको सञ्चालन रामपुर ४ का वडा सचिव सविता रानाले गर्नु भएको थियो । जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत रमा श्रेष्ठले जिल्लाको अन्य पालिकामा विवरण संकलन भैरहेको र हाल रामपुर नगरपालिकाका ४ र ५ का ६ घर, पूर्वखोला गाउँपालिका ६ का ९ घर र माथागढी गाउँपालिका ४ का ६ घर परिवारलाई विपद् व्यवस्थापन कोष मार्फत तत्कालको लागि १५/१५ हजार रुपैयाँ सहयोग गरेको जानकारी दिनुभयो ।

यस्तै जिल्ला प्रशासन कार्यालयको राहत रकम संगै रामपुरमा क्लथ एण्ड फुड बैंक नेपाल रुपन्देहीले रामपुर नगर भित्र आगलागी बाट पूर्ण रुपमा क्षति भएका र आंशिक क्षति भएका परिवारलाई लत्ताकपडा सहित ओढ्ने ओछ्याउने सामाग्री प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी काफ्ले सहित सरोकारवालाहरुको उपस्थितिमा क्लथ एण्ड फुड बैंक नेपालका पाल्पा संयोजक सूर्य जिसी, प्रेम प्रकाश श्रेष्ठ, थमन मल्लले सामग्री प्रदान गर्नु भएको हो ।

संस्थाले पीडित परिवारलाई परिवार संख्याको आधारमा लगाउने लुगा सहित सिरक, डसना र सिरानी प्रदान गरेको हो ।  जस अन्तर्गत वडा नं. ४ का ३ र ५ का ५ परिवारलाई सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?