रामपुर–६ मा मादल बजाउने तालिम सम्पन्न

पाल्पा, रामपुर नगरपालिका वडा नं. ६ पाल्पामा मादल बजाउने तालिम सम्पन्न भएको छ । रामपुर नगरपालिका वडा नं. ६ को संस्कृति संरक्षण कार्यक्रम अन्तर्गत संस्कृति संरक्षण समितिको समन्वयमा मादल बजाउने तालिम प्रदान गरिएको हो ।

१० दिने तालिमको विहिबार एक कार्यक्रमका वीच समापन गरिएको छ । सहभागीलाई प्रमाण पत्र वितरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले तालिमले कला ज्ञान सिप आर्जन संगै संस्कृतिको संरक्षणका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । साथै उहाँले गाउँ छिमेकमा हुने विभिन्न कार्यक्रममा मादल बजाउने व्यक्तिको अभाव नहुने उल्लेख गर्नुभयो । थापाले नेपालीहरुको मौलिक संस्कृतिको जगेर्ना संगै महत्व बढाउन तालिम लाभदायी हुने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका सल्लहाकार तथा निवर्तमान वडा अध्यक्ष हुमनाथ न्यौपानेले तालिम मादल बजाउनमा मात्र सिमित नभएको भन्दै यसले संस्कृतिको संरक्षण संगै बाजाको संरक्षण पनि हुने बताउनुभयो । समापन कार्यक्रममा राजनीतिक दलहरुको तर्फबाट राष्ट्रिय जनमोर्चा रामपुरका नगर अध्यक्ष राम प्रसाद गैरेले तालिममा सिकेका ज्ञानलाई अभ्यास मार्फत दक्ष मादल बाधक बन्न आग्रह गर्नुभयो । तालिमका प्रशिक्षक कलाकार हुम विसीले १० दिनको तालिममा मादल बजाउनका लागि आधारभूत ज्ञान सिप सिकएको बताउँदै सिकेका ज्ञानसिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

तालिममा सहभागिहरुको तर्फबाट मधुरा पाठकले संस्कृतिको संरक्षणका लागि प्रदान गरिएको तालिम आफुहरुका लागि उपलब्धीमूलक भएको भन्दै मादल र संस्कृतिको संरक्षणका लागि लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रामपुर नगरपालिका वडा नं. ६ का अध्यक्ष दिवाकर देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रामपुर नगरपालिकाका कार्यपालिका सदस्य शारदा आचार्यको स्वागतबाट सुरु भएको कार्यक्रममा सहभागिलाई धन्यवाद मञ्जु ढुंगानाले ज्ञापन गर्नु भएको थियो भने सञ्चालन सुष्मा आलेले गर्नु भएको हो । समापनका अवसरमा सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । १० दिन सम्म चलेको तालिममा वडा नं.६ का २५ जना महिला दिदीबहिनीहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण टिकाराम ढकाल र हुम विसीले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?