पाल्पा, निस्दी गाउँपालिका–२, सहलकोटमा मिनी बाल मेला कार्यक्रम सम्पन्न भएको छ । बालअधिकार संगै बालविवाह विरुद्ध सचेतना जगाउन, बालबालिकाको शारीरिक र मानसिक विकासका साथै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले निस्दी गाउँपालिका वडा नं. २ सहलकोटको आयोजना र निस्दी गाउँपालिकाको प्रायोजनमा कार्यक्रम भएको हो ।
‘बालबालिकामा लगानी, ल्याउँछ सुनौलो विहानी’ भन्ने नाराका साथमा भएको बाल मेला निस्दी–२ का वडा अध्यक्ष फत्ते सिं दर्लामीको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । बाल मेलाको उट्घाटन गर्दै प्रमुख अतिथी श्रेष्ठले देशैभर समस्याको रुपमा रहेको बालविवाह विरुद्ध निस्दीले चालेको अभियानको प्रशंसा गर्नुभयो । उहाँले सामाज रुपान्तरणका लागि पूर्वाधार विकासमा मात्र नभै शिक्षा र स्वास्थ्यमा पालिकाहरुले विशेष ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।
निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले २०८३ भित्र पालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्न कार्यक्रमहरु भैरहेको भन्दै युवा मैत्री पालिका निर्माणमा पनि जोड दिएको बताउनुभयो । बालबालिकाको शिक्षाको सुनिश्चितताको लागि गाउँपालिका प्रतिवद्ध भएर लागेको जानकारी दिनुभयो । गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले भौतिक विकास संगै सामाजिक विकासमा गाउँपालिकाले लगानी गर्दै आएको बताउनुभयो ।
निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बालविवाह अन्त्यका लागि शैक्षिक जागरणको आवश्यक रहेको भन्दै यस्ता कार्यक्रमले महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । अंशुवर्मा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देविलाल लामिछानेले बालमेलाले बालबालिकामा सचेतना संगै प्रतिस्पर्धाको भावनाको विकास गराएको बताउनुभयो । निस्दी गाउँपालिका ३ का वडा अध्यक्ष नविन्द्र थापा सोतीले पालिकाको सबै वडामा कार्यक्रम वालबिवाह विरुद्धको अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।
निस्दी गाउँपालिका २ का वडा अध्यक्ष एवं बालमैत्री शासन समिति निस्दी २ का संयोजक फत्ते सिं दर्लामीले गाउँपालिकाको अभियान अन्तर्गत वडालाई २०८१ भित्र बालमैत्री वडा घोषणा गर्ने लक्ष्य सहित बालबालिकालाई थप सक्रिय बनाउन मेलाको आयोजना गरिएको बताउनुभयो । निस्दी गाउँपालिकाका बालकल्याण अधिकारी कृश्माखर पाण्डेले बालविवाह विरुद्धको अभियानमा विद्यार्थीहरुलाई सचेत र थप सक्रिय बनाउन कार्यक्रम गरिएको जानकारी दिनुभयो । मेला सुरु हुनु पूर्व निस्दी २ भित्र रहेका ५ वटै विद्यालयका विद्यार्थीहरुले पञ्चेबाजाका साथ बाल हिंसाको अन्त्य, बालविवाह विरुद्ध सचेतना तथा बाल अधिकारको सुनिश्चिचताका लागि नारा सहित र्याली निकालेका थिए ।
त्यस पश्चात वडा भित्रका विद्यालय विच कक्षा ३ सम्मको चम्चागुच्चा दौड, कक्षा ४ र ५ को हाजिरी जवाफ, कक्षा ६ देखि ८ सम्म वालविबाह अन्त्यका लागि हाम्रो भुमिका विषयक वक्तृत्वकला र कक्षा नौ देखि १२ सम्म लोक नृत्य, शिक्षक र जनप्रतिनिधि विच कुर्ची दौड प्रतियोगिता भएको थियो । जस अन्तर्गत चम्चागुच्चा दौडमा प्रथम, द्वितिय र तृतिय बालहित माविका सुस्मा राना, विकास राना र योगेश गाहा भएको छ । हाजिरजवाफ तर्फ प्रथम पुरन्थर प्राविका सविना राईको समुह, द्वितिय बालहित माविका सक्षम रानाको समुह र तृतिय अंशुवर्मा माविका अर्चना दर्लामी तथा भाङबारी प्राविका आस्मा मश्राङ्गीको समुह भएको छ । वक्तृत्व कला प्रतियोगितामा प्रथम बालहित माविका भुमिका समाल, द्वितिय र तृतिय अंशुवर्मा माविका अनुष्पा सिंजाली र निरुता राना, लोकनृत्य प्रतियोगितामा प्रथम बालहित माविका रिममाया रानाको समुह, द्वितिय र तृतिय अंशुवर्मा माविका जमुना राना र अनिसा रानाको समुह भएका छन् ।
शिक्षक र जनप्रतिनिधि विचको म्युजिकल चियरमा प्रथम अंशुवर्मा माविका शिक्षक याम कुमारी वाकावल, द्वितिय सोही विद्यालयका शिक्षक गणेश कुमाल र तृतिय बालहित माविका शिक्षक दिलराम राना हुनु भएको छ ।
साथै कार्यक्रममा गौरी शंकर माविका विद्यार्थीहरुले बालविवाह विरुद्धको सडक नाटक प्रस्तुत गरेका थिए । अंशुवर्मा माध्यमिक विद्यालयको प्रङ्गणमा भएको कार्यक्रम बालकल्याण अधिकारी कुश्माखर पाण्डेको स्वागत र शुसेली बालञ्चका सचिव अनिता वि.क.ले गर्नु भएको थियो ।