नेवा: देय दबू रामपुर सहित विभिन्न समुह द्वारा अग्नी पीडितलाई राहत प्रदान

पाल्पा, नेवाः देय दबू रामपुर नगर कार्यसमिति सहित विभिन्न संस्था तथा समुहले अग्नीपीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । गत वैशाख १९ गते वनमा लागेको डढेलो बस्तीमा पसेपछि घर गोठमा क्षति भएको रामपुर नगरपालिका वडा नं. ४ र ५ का नौ घर परिवारलाई ४ लाख ७६ हजार ४ सय रुपैयाँ रकम सहयोग गरेको हो ।

कार्यक्रममा नेवाः देय दबू रामपुर नगर समिति मार्फत ३ लाख ६५ हजार ४ सय, रामपुर नेवाः समाजले ३० हजार, लोक प्रसाद शेष कुमारी अक्षयकोष मार्फत २५ हजार र रामपुर अक्षयकोष बाट ५६ हजार रकम सहयोग गरेको हो । रामपुर नेवाः समाजको कार्यालयमा कार्यक्रम गरी पीडित परिवारलाई क्षतिको आधारमा रकम सहयोग गरेको हो ।शुक्रबार रामपुर नेवाः समाजको कार्यालयमा भएको राहत रकम वितरण कार्यक्रम नेवाः देय दबू रामपुर नगर कार्यसमितिका अध्यक्ष रुद्रनारायण श्रेष्ठको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।

राहत वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले विपद्मा परेका परिवारको पीडामा मल्हम लगाउनसंघ संस्था तथा समुहले देखाएको अग्रसरता प्रति आभार व्यक्त गर्नुभयो । उहाँले अग्नीपीडित परिवारको लागि प्रदेश मार्फत प्राप्त हुने राहतका लागि पहल भैरहेको जानकारी दिनुभयो । नेवाः देय दबू रामपुर नगर समितिका अध्यक्ष रुद्र नारायण श्रेष्ठले आगोलागी बाट क्षति भए लगतै नगरका १० वटै वडा समितिलाई परिचालन गरी सहयोग जुटाएर राहत प्रदान गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेवाः देय दबू रामपुर नगर समितिको तर्फ बाट प्रमुख अतिथी श्रेष्ठ संगै अध्यक्ष रुद्रनारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष मोहन प्रसाद श्रेष्ठ, सचिव लेख प्रसाद श्रेष्ठ सहितका पदाधिकारीहरुले रकम हस्तान्तरण गर्नुभएको थियो । रामपुर नेवा समाज रामपुरको तर्फ बाट अध्यक्ष बाबुराम श्रेष्ठ, कोषाध्यक्ष राजकुमार श्रेष्ठ, सचिव विमल श्रेष्ठ, लोक प्रसाद शेष कुमारी अक्षयकोष बाट प्रधान संरक्षक एवं प्रमुख अतिथी श्रेष्ठ र रामपुर अक्षयकोष बाट अध्यक्ष राजु प्रसाद श्रेष्ठ, सचिव तुल बहादुर थापा, कोषाध्यक्ष विनोद कुमार श्रेष्ठले रकम पीडित परिवारलाई हस्तान्तरण गर्नु भएको थियो ।

आगोलागीले रामपुर नगरपालिका ४ को समाङसिङमा ३, तल्लो गिजिन डाँडामा १ र रामपुर ५ गैराको ५ घरको घर तथा गोठमा क्षति भएको थियो । अग्नी पीडित परिवारलाई क्षतिको आधारमा राहत रकम प्रदान गरिएको हो । रामपुर अक्षकोषका सचिव तुल बहादुर थापाको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई नेवाः देय दबू रामपुरका वरिष्ठ उपाध्यक्ष मोहन प्रसाद श्रेष्ठले ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन नेवाः समाज रामपुरका सचिव विमल श्रेष्ठले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?