पत्रकारिता समाज रुपान्तरणको माध्यम हो : वरिष्ठ पत्रकार शर्मा

पाल्पा, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार मेघराज शर्माले पत्रकारिता समाज रुपान्तरणको माध्यम भएको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको ११ औं अधिवेशनको उट्घाटन गर्दै शर्माले पत्रकारिता व्यवसायिकता मात्र नभै समाज रुपान्तरणको माध्यम भएकोे बताउनुभएको हो ।

मिडिया हाउस जोगाउन सके मात्र प्रेस स्वतन्त्रताको रक्षा हुने बताउनुभयो । मिडिया तथा सञ्चार माध्यम बलियो भए मात्र लोकतन्त्र बलियो हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘अहिले मिडियाहरु दिनहुँ बन्द हुँदै गएका छन्, मिडिया बन्द भएपछि पत्रकारहरु विस्थापित हुँदै गएका छन् , पत्रकारहरु नै नभएपछि लोकतन्त्र नै कमजोर हुँदै जाने परिस्थति सिर्जना भएको छ ।’ शर्माले स्थानीय, प्रदेश र केन्द्रिय सरकारले मिडियालाई बलियो बनाउने गरी नीतिगत रुपमा कार्यक्रमहरु ल्याउनु पर्ने, समानुपातिक विज्ञापन प्रणाली लागु गर्नुपर्नेमा बताउनुभयो ।

समानुपातिक विज्ञापन नीतिको विषय विगत देखि नै उठ्दै आएपनि अझै पनि पूर्ण रुपमा कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निरन्तर रुपमा समानुपातिक विज्ञापन कुरा उठ्दै आएको छ । म शाखाको अध्यक्ष हुँदा २०४९ सालमा पनि समानुपातिक विज्ञापनको कुरा उठेको थियो । हाल सम्म पनि समानुपातिक विज्ञापनको विषय उठिरहेको छ । कार्यान्वयनमा कस्ले रोकिराखेको छ । जड कुरा पत्ता लगाउनु आवश्यक छ ।’ उहाँले पत्रकारले जे बोल्छ र लेख्छ सोही अनुसारको व्यवहार गर्नु आवश्यक रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाका पूर्व अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी गोविन्द भट्टराईले पाल्पाली पत्रकारिताको गरिमा थप उच्च बनाउनका लागि सहकार्य र समन्वय गर्दै अघि बढ्न आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका पूर्व अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी झपेन्द्र गहिरेले मिडियामुखी सरकार नहुँदा सञ्चार माध्यम धरासायी बनेको बताउनुभयो । उहाँले स्थानीय सञ्चार माध्यमको सबलीकरणको लागि स्थानीय सरकरलाई थप जिम्मेवार बनाउनु पर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका सल्लाहाकार एवं निवर्तमान अध्यक्ष राजेश कुमार अर्यालले महासंघले पत्रकारिताको शैली परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो ।

सल्लाहाकार कमलराज तिमिल्सिनाले कस्ले नेतृत्व गर्ने भन्दा पनि पत्रकारिताको संरक्षण कसरी गर्न भन्ने तर्फ बहस हुनु जरुरी रहेको बताउनुभयो । नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधव अर्यालले पछिल्लो समय पत्रकारितामा चुनौतिहरु देखिएको भन्दै त्यसका लागि संस्थागत रुपमा लाग्नु आवश्यक रहेको बताउनुभयो ।  कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य गिता ज्ञावली, प्रदेश परिषद् सदस्य मिलन विश्वकर्मा, प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्की, नेपाल प्रेस युनियन पाल्पाका अध्यक्ष मन गहिरे, समाजवादी प्रेस संगठन पाल्पाका अध्यक्ष पदम गैरे, नव जनचेतना दैनिकका सम्पादक जगदीश भट्टराईले महासंघको गरिमा विगतको तुलनामा खस्कियो कि भन्ने तर्फ सोच्ने समय आएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले राम्रा कार्यको प्रशंसा संगै आलोचनात्मक सामाग्री उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । अधिवेशनमा पाल्पा शाखाका कोषाध्यक्ष मुक्ति प्रसाद न्यौपानेले आर्थिक प्रतिवेदन र सचिव यज्ञमूर्ति तिमिल्सिनाले सांगठनिक प्रतिवेदन पेश गर्नु भएको थियो । दुवै प्रतिवेदन सर्व सम्मत रुपमा पारित भएको छ । महासंघको सभाहलमा भएको कार्यक्रम अध्यक्ष रानाको अध्यक्षतामा भएको थियो । उपाध्यक्ष भरत शर्माको स्वागत र बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव यज्ञमूर्ति तिमिल्सिनाले गर्नु भएको हो । अधिवेशन अन्तर्गत जिल्ला, प्रदेश र केन्द्रको नयाँ नेतृत्वको लागि यही जेठ २६ गते महासंघको निर्वाचन हुने कार्यतालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?