धन बहादुर ठाडा
पाल्पा, जिल्लाको निस्दी गाउँपालिकामा बालविवाह विरुद्ध सचेतना जगाउन वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बालविवाह अन्त्यको लागि हाम्रो भुमिका विषयक वाक्तृत्वकला प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।
गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा २४ वटा आधारभूत विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा प्रथम बालहित मावि सहलकोटका भुमिका समाल, द्वतीय सरस्वती मावि गल्धाका विवेक राना, तृतीय गौरीशंकर मावि मित्यालका सृष्टि सुनारी र सान्त्वना अंशुवर्मा मावि सहलकोटकी अनुष्पा सिंजाली हुनु भएको छ । प्रतियोगितामा विजेतालाई गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले पुरस्कार वितरण गर्नुभएको थियो ।
पुरस्कार वितरण गर्नुहुँदै अध्यक्ष सारुले निस्दीमा बालविवाह न्यूनीकरणका लागि औपचारिकता भन्दा व्यावहारिक कार्यक्रमलाई जोड दिएको बताउनुभयो । उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले बालबिबाह अन्त्यका लागि विद्यालयको महत्त्वपूर्ण भुमिका रहने बताउनुहुँदै विद्यालय र बालबालिकाको राम्रो सम्बन्ध हुनुपर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले निस्दीलाई आगामी तीनवर्ष भित्र बालमैत्री स्थानीय शासन लागु भएको पालिका घोषणा गर्ने तयारी गरेको बताउनुहुँदै शुन्य बालविवाहको लागि सबै क्षेत्रबाट सकारात्मक सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
पालिकाको बहुउद्देश्यीय सभाहल मित्यालमा भएको कार्यक्रममा वडा नं. ४ मित्यालका वडा अध्यक्ष सन्तवीर सुनारी, शिक्षा शाखा संयोजक नर बहादुर थापा, गौरीशंकर मावि मित्यालका प्रधानाध्यापक केश बहादुर सुनारी लगायतले बालविवाह अन्त्यका लागि आआफ्नो धारणा राख्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बालकल्याण अधिकृत कुश्माखर पाण्डेले गर्नुभएको हो ।