कालीगण्डकी करिडोरलाई विकास करिडोरको रुपमा लिनु पर्छ : युवा नेता राना

पाल्पा, अन्तराष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष एवं युवा नेता सन्दिप रानाले कालीगण्डकी करिडोरलाई विकास करिडोरका रुपमा लिनु पर्ने बताउनुभएको छ । निस्दी गाउँपालिका–१ डमरामा भएको अक्षय तृतीया मेला समापन कार्यक्रमलाई सम्बोधन गर्दै रानाले करिडोरको भरपुर सदुपयोग गरी यस क्षेत्रको विकासको आधारको रुपमा लिन युवाहरुलाई आग्रह गर्नुभएको हो ।

करिडोरको असामाजिक तत्वहरुले दुरुपयोग गर्न सक्ने सम्भावना बढेको भन्दै सचेत हुन युवाहरुलाई आग्रह गर्नुभयो । नेपालीले भगवानको रुपमा पुज्दै आएको गाई तथा गोरु करिडोर भएर तस्करी हुने गरेको घटना प्रति चिन्ता व्यक्त गर्दै असामाजिक कार्यलाई रोक्न युवाहरु जागरुक हुनु आवश्यक रहेको बताउनुभयो । ‘स्थानीय युवा साथीहरुलाई क्षणिक फाईदाको लोभ देखाएर असमाजिक तत्वहरुले दुरुपयोग गर्न सक्ने सम्भावना बढेको छ । हामीले कालीगण्डकी करिडोरलाई असमाजिक तत्वहरुको करिडोर होईन विकास करिडोरको रुपमा परिचित गराउन सक्रिय हुनु पर्छ ।’ उहाँले भन्नुभयो ।

रानाले केही वर्ष अघि सम्म गण्डकी वेशीलाई दुर्गम क्षेत्रको रुपमा लिए पनि करिडोर सचालनमा सञ्चालन संगै विकासको आशा पलाएको बताउनुभयो । करिडोरको माध्यम बाट गण्डकी वेशी क्षेत्रको धार्मिक तथा संस्कृतिक प्रवद्र्धन गरी पर्यटन संगै कृषिको माध्यम बाट समृद्धिको आधार कोर्न सकिने बताउनुभयो । असामाजिक तत्वहरुको दुरुपयोग रोक्नका लागि पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर क्षेत्रका प्रशासन, राजनैतिक दल युवा तथा सरोकारवालाहरु सक्रिय हुन आग्रह गर्नुभयो ।
रानाले विविध खेलकुद प्रतियोगिताका विजेता समुहलाई पुरस्कार प्रदान गर्दै अक्षय तृतीयाको महत्व र यसको विशेषताको बारेमा चर्चा गर्नु भएको थियो।

परिवर्तनशिल युवा क्लब निस्दी-१ डमरा भोटाहा पाल्पाले अक्षय तृतीया मेलाको अवसरमा अबसरमा द्वारा आयोजित शुद्ध साबिक वडा स्तरीय पुरुष भलिवल, प्रौढ पुरुष भलिवल तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाकम सदस्य प्रताप थापा, निस्दी गाउपालिका वडा नं. १ का वडा अध्यक्ष यम बहादुर राना, बौदिकाली गाउँपालिका ३ का वडा अध्यक्ष जित बहादुर झेंडी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

खेल संयोजक गणेश सोतीका अनुसार प्रतियोगिता अन्तर्गत साविक वडा स्तरीय पुरुष भलिबल तर्फ २४ टिम र प्रौढ तर्फ ५ टिम सहभागी रहेको थियो । पुरुष भलिबल तर्फ प्रथम रामपुर नगरपालिका-३ रजघरा प्रथम, रामपुर नगरपालिका-९ जब्कादी दोस्रो र आयोजक तृतीय भएको छ । प्रौढ भलिबल तर्फ प्रथम रामपुर पाल्पा, द्वितीय रामपुर स्याउलीबजार भएको छ । पुरुष भलिबल तर्फ प्रथम दोश्रो र तेश्रो हुन सफल समुहलाई क्रमश नगद ४० हजार, २५ हजार र १५ हजार सहित प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।

मेला आयोजना गर्नका लागि विशेष सहयोग गर्नुहुने व्यक्तित्व तथा अतिथीहरुलाई सम्मान गरिएको थियो । परिवर्तनशिल युवा क्लबका कार्यबाहक अध्यक्ष क्षितिज बिक्रम खाँणको अध्यक्षतामा भएको कार्यक्रम सल्लाहाकार कृष्ण बहादुर थापाको स्वागत र क्लबका सहसचिव अजय अधिकारीको सञ्चालनमा भएको हो । कार्यक्रममा मौलिक कौरा नृत्य पनि प्रस्तुत गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?