जिप दुर्घटना अपडेट : दुईको मृत्यु चालक सहित १३ जना घाइते

पाल्पा, पाल्पाको निस्दी गाउँपालिका–४, मा बुधबार अपरान्ह भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । साथै चालक सहित १३ जना घाईते भएका छन् ।

नवलपरासी (बर्दाघाट सुस्त पूर्व)को अरुणखोला बाट पाल्पाको निस्दी–३, खादर तर्फ जाँदै गरेको लु १ ज ३३२४ नम्बरको डबल क्याप पिक अप जिप मित्यालको लामेदमार नजिकै मतियार डाँडामा दुर्घटना भएको थियो । निस्दी गाउँपालिका–४, का ६ वर्षीय बालक राजिब सुनारी र निस्दी-४ कै २० वर्षीय तेजन सोमईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाईते हुनु भएका सोमईको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा निस्दी गाउँपालिका ४ का २७ वर्षीय धामिसरा सुनारी, ७४ वर्षीय माया खन्गाहा, जिप चालक २८ वर्षीय नरेस खाम्चा, २४ वर्षीय ईसानी गाहा, उहाँको एक वर्षीय छोरी सहिरा गाहा, ४० वर्षीय दरीमा मश्राङ्गी, २० वर्षीय हिरा खन्गाहा, ४३ वर्षीय बनि सुनारी, ३१ वर्षीय सुर बहादुर सोमई, २८ वर्षीय कुसुम सारु थापा, कुसुम सारुको साढे २ वर्षको छोरी मनिका सारु, वर्ष १७ को हेमसरी घर्ती र निस्दी ३ को ६६ वर्षीय खुम बहादुर सोती घाईते हुनु भएको छ ।

घाईते मध्ये धामिसरा सुनारी र कुसुम सारु थापाको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभयो । घाईतेहरुलाई उपचारको लागि नारायणी सामुदायिक अस्पताल भरतपुर र मध्यविन्दु अस्पताल नवलपरासी पठाइएको छ । मित्याल अरुणखोला सडक खण्ड अन्तर्गत रहेको भित्री कच्ची सडक बाट जिप ३० मिटर तल खसेको थियो । दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?