२५६८ औं बुद्धजयन्तीको अवसरमा रामपुरमा शान्ति र्याली

पाल्पा, पाल्पाको रामपुरमा २५६८ औं बुद्धजयन्तीको अवसरमा शान्ति र्याली निकालिएको छ । विश्व शान्तिको कामना गर्दै जनहित बौद्ध विहार रामपुर पाल्पाको आयोजना र नेपाल मगर बौद्ध सेवा समाज पाल्पाको समन्वयमा आज र्याली निकालेको हो ।

शान्तिको कामना गर्दै रामपुर–४, सदावर्त चोक बाट र्याली निकालिएको थियो । सदावर्त बाट सुरु भएको र्याली इस्लामपुर, बाङ्गेपसल रोड, बेझाँड बजार, इलाका प्रहरी कार्यालय, देविस्थान हुँदै जनहित बौद्ध विहार रामपुर ४ मा पुगे पछि पुजा पाठ सुरु भएको थियो । बौद्ध विहारमा बुद्ध पुजा संगै पञ्चशील प्रार्थना र धर्मदेशना, प्रसाद भोजन वितरण कार्यक्रम भएको थियो । बैशाख पूर्णिमाको दिनलाई बौद्ध धर्मालम्वीहरुले बुद्धको जन्म दिन, बुद्धत्व प्राप्त गरेको दिन र महापरिनिर्माण ( मृत्यु) भएको दिन त्रिसंयोग भएको पवित्र दिनको रुपमा लिने भएकाले बुद्ध पुर्णिमाको रुपमा मनाउने परम्परा रहँदै आएको छ ।

जनहित बौद्ध विहार रामपुर पाल्पाका अध्यक्ष जित बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम अखिल नेपाल भिक्षु महासंघ द्वारा सञ्चालित ज्ञानमाला संघ परियत्ति शिक्षाका पूर्व केन्द्रिय सदस्य एवं धर्मगुरु बल बहादुर गाहा मगरको प्रमुख आतिथ्यतामा भएको हो । पाल्पाको रामपुर संगै तानसेन, बगनासकाली, माथागढी, निस्दी गाउँपालिका सहित तनहुँको भिमाद नगरपालिका बाट सयौंको संख्यामा उपस्थित रहेको कार्यक्रममा प्रमुख अतिथी गाहाले धर्मदेशना गराउनु भएको थियो । र्यालीमा रामपुर स्काउट ट्रुपको समेत सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन जनहित बौद्ध विहारका सल्लाहाकार देव बहादुर ठाडाले गर्नु भएको थियो । उहाँले जनहित बौद्ध विहारको बारेमा समेत जानकारी गराउनु भएको थियो ।

नेपाल बौद्ध सेवा समाज जिल्ला समिति पाल्पाका अध्यक्ष दिल बहादुर रानाले जिल्लामा रहेको सबै बौद्धविहारहरुमा ज्ञानमाला भजन, पञ्चशील प्रार्थना, बुद्ध पुजा र धर्मदेशना, प्रसाद भोजन वितरण कार्यक्रम भएको जानकारी दिनुभयो । बौद्धविहार नभएका स्थान बाट यस वर्ष रामपुरमा उपस्थित भएर कार्यक्रम गरिएको जानकारी दिनुभयो । बुद्धजयन्तीको अवसरमा बौद्ध विहारमा मौलिक कौरा, मारनी नाच र सालैजो प्रस्तुत गरिएको थियो । जनहित बौद्ध विहारमा रामपुर नगरपालिका ४ सदावर्तका मुक्त बहादुर थापाले भोजनदान गराउनु भएको थियो । यस्तै बुद्ध जयन्ती मुल समारोह समिति तानसेन पाल्पाले पनि विविध कार्याक्रम गरेर बुद्धजयन्ती मनाईरहेको छ । समितिले जेठ ५ गते देखि १२ गते सम्म कार्यक्रम गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?