निस्दी आवाज द्वारा बाल विवाह विरुद्धको सचेतना अभियान सञ्चालन

पाल्पा, निस्दी आवाज युवा सञ्जालले निस्दी गाउँपालिकाको विभिन्न टोलमा बाल विवाह विरुद्धको सचेतना अभियान सञ्चालन गरेको छ । सामाजिक सञ्जाल मार्फत विभिन्न अभियान सञ्चालन गर्दै आएको सञ्जालले टोलटोलमा पुगेर सचेतना अभियान सञ्चालन गरेको हो ।

शुक्रबार र शनिबार वडा नं. ३, ४ र ५ मा घाटु नाच प्रदर्शन गरिएको स्थानमा पुगेर बाल विवाह विरुद्धको सचेतना अभियान सञ्चालन गरेको हो । बाल विवाह विरुद्धको अभियानमा जोडिन अाग्रह सहित सचेतना कार्यक्रम गरेको हो । निस्दी गाउँपालिकाले २०८३ साल भित्र गाउँपालिकामा बालमैत्री स्थानीय शासन लागू गर्नका लागि गत वर्ष देखि अभियान सञ्चालन गर्दै अाएको छ । तर बाल विवाह गर्ने क्रम अझ कायम नै रहेको भन्दै सञ्जालले पालिकाको अभियानमा एकेबद्धता जनाउँदै अभियान थालेको हो ।

अभियानको क्रममा निस्दी ३ को दुनडाँडा, निस्दी ४ को भोर्मा, खोप्लाक, मौलाथर, निस्दी ५ को बेलौजी, बाङ्लाङ्, गाबुडाँडा र खरकडाँडा टोलमा सचेतना कार्यक्रम गरिएको निस्दी आवाज युवा सञ्जालका प्रतिनिधि तिलक सारुले जानकारी दिनुभयो । सञ्जालका प्रतिनिधि मीन बहादुर सोमैले बालविवाह अन्त्यका लागि आ-आफ्नो क्षेत्र बाट लाग्नु जरुरी रहेको भन्दै गाउँगाउँमा सचेतना जगाउनु सञ्जालको पनि जिम्मेवारी भएको बताउनुभयो ।

कार्यक्रममा निस्दी गाउँपालिका बालकल्याण अधिकारी कुश्माखर पाण्डेले पालिकाको अभियानमा साथ दिनको लागि सञ्जालले चालेको प्रयास प्रति धन्यवाद दिदै सबैलाई अभियानमा सरिक हुन अाग्रह गर्नुभयो । उहाँले बालविवाहको वर्तमान अवस्था, समाजमा पारेको असर, बालविवाह विरुद्ध कानुनले गरेको व्यवस्था, निस्दी गाउँपालिकाले चालेको कदम तथा उपलब्धीको विषयमा जानकारी गराउनु भएको थियो । बालमैत्री स्थानीय शासन लागु गर्ने अभियान थाले संगै विगतको तुलनामा बालविवाह कम हुँदै गए पनि अन्त्यका लागि सबैको सक्रियताको खाँचो अौल्याउनु भयो ।

अभियानमा गौरीशंकर माविका छात्रा सृष्टि सुनारीले पनि बालविवाह अन्त्यका लागि आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा सञ्जालका प्रतिनिधि इमान सिं राना, खुम सारु, धन बहादुर ठाडा लगाएको सहभागीता रहेको थियो । ‘निस्दी आवाज युवा सञ्जालको ध्यान, बाल बिबाहको विरुद्ध जनजागरूकता हाम्रो अभियान’ भन्ने नाराका साथ सञ्चालन भएको अभियानलाई अन्य टोल तथा बस्तीहरुमा निरन्तरता दिने सञ्जालले जनाएको छ । पहिलो चरणमा स्थानीयको जमघट हुने स्थानलाई लक्ष्यित गरि सचेतना कार्यक्रम भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?