काठमाडौं, सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले संघिय संसद्को बैठकमा मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो ।
कुल खर्च तर्फ सबैभन्दा बढी चालुतर्फ छुट्याइएको छ । चालूतर्फ कुल विनियोजन बजेटको ६१.३१ प्रतिशत अर्थात् ११ खर्ब ४० अर्ब ६६ करोड बजेट विनियोजन गरिएको छ । पुँजीगततर्फ कुल विनियोजन रकमको १८.९७ प्रतिशत अर्थात् तीन खर्ब ५२ अर्ब ३५ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले बताउनुभयो ।
वित्तीयतर्फ कुल विनियोजन बजेटको १९.७४ प्रतिशत अर्थात् तीन खर्ब ६७ अर्ब १८ करोड बजेट विनियोजन गरिएको छ । यो अनुमान चालू आर्थिक वर्षको विनियोजन रकमको तुलनामा ६.२ प्रतिशतले बढी हो भने संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो ।
खर्च व्यहोर्ने स्रोत मध्ये राजस्व बाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड अनुमान गरेको छ । जसमा ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु. २ खर्ब १७ अर्ब ६७ करोड जुटाउने र राजस्व परिचालन तथा वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने अर्थमन्त्री पुनले बताउनुभयो ।