निस्दीमा १२ कक्षा उत्तिर्ण गरी २० वर्ष पुगेर विवाह गरेका तथा स्नातकोत्तर उत्तिर्ण महिला सम्मानित

पाल्पा, पाल्पाको निस्दी गाउँपालिकाले १२ कक्षा उत्तिर्ण गरी २० वर्ष पुरा भएर विवाह गरेका तथा स्नातकोत्तर तह उत्तिर्ण गरेका महिलाहरुलाई सम्मान गरेको छ । छैठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसर कार्यक्रम गरी उनीहरु संगै उत्कृष्ट महिला उद्यमीलाई पनि सम्मान गरेको हो ।

‘हाम्रो अभियान आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नाराका साथ भएको कार्यक्रममा गाउँपालिका भित्रका कक्षा १२ पास गरी २० वर्ष पुगेर मात्र विहे गरेका २२ जना, स्नातकोत्तर तह उत्तिर्ण ३ जना र उत्कृट उद्यमी ५ जना महिलाहरुलाई सम्मान गरिएको हो ।

महिलाहरुलाई जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख काशिका गैरे, गाउँपालिका उपाध्यक्ष तीरण कुमारी श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत मदन अर्यालले खादा ओढाएर नगद र सम्मान पत्र सहित सम्मान गर्नु भएको हो । महिलाहरुलाई सम्मान गर्दै जिल्ला समन्वय समितिका प्रमुख काशिका गैरेले महिलाहरुलाई शैक्षिक र आर्थिक रुपमा सशक्त बनाउन कार्यक्रमले महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष तीरन कुमारी श्रेष्ठले बालविवाह न्यूनिकरणका लागि सचेतना जगाउनुका साथै महिलाहरुलाई शिक्षा र उद्यम तर्फ आकर्षित गर्न गत वर्ष देखि कार्यक्रम सञ्चालन गरिदै आएको जानकारी दिनुभयो । उहाँले महिलाहरुलाई शिक्षा र उद्यमशिलताको माध्यम बाट अघि बढाउन पालिकाले प्रयास गर्दै आएको बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत मदन अर्यालले बालमैत्री स्थानीय शासन लागु गर्न पालिकामा अभियान सञ्चालन भैरहेको सन्दर्भमा बालविवाह न्यूनिकरण संगै महिला सशक्तिकरणमा जागरुक बनाउन सम्मानका कार्यक्रम गरिएको बताउनुभयो ।

कार्यक्रममा निस्दी गाउँपालिका ३ का वडाध्यक्ष नविन्द्र थापा सोती, कार्यपालिका खुमीसरा पुलामी र बालकल्याण अधिकारी कुश्माखर पाण्डेले आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा महिला अधिकारकर्मी मिना जिसीले महिला सशक्तिकरण, घरेलु तथा लैङ्गिक हिंसा न्यूनिकरणका उपाय, हिसा विरुद्धको कानुनी व्यवस्था लगाएतका विषयमा प्रशिक्षण दिनु भएको थियो । साथै कार्यक्रममा गौरी शंकर माध्यमिक विद्यालयका विद्यार्थीहरुले बालविवाह विरुद्धको सचेतना सम्बन्धी नाटक सहितका प्रस्तुति राखेका थिए ।

गाउँपालिकाले गत जेठ ४ देखि ११ गते सम्म ७ वटै वडामा सूचना जारी गरी वडाको सिफासिरको आधारमा महिलाहरुलाई सम्मान गरेको हो । निस्दी गाउँपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख बन्दना गुप्ताले १२ कक्षा पास गरी २० वर्ष पुरा भएर विहे गर्ने महिलालाई नगद १० हजार, स्नातकोत्तर उत्तिर्ण महिला र उत्कृष्ट उद्यमी महिलालाई ५/५ हजार सहित सम्मान गरिएको जानकारी दिनुभयो । गाउँपालिकाको बहुउद्देश्य सभाहलमा भएको कार्यक्रम महिला समन्वय समितिका अध्यक्ष तिर्सना खन्गाहाको अध्यक्षता, गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ६ का अध्यक्ष मेख बहादुर सुनारीको स्वागत र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख बन्दना गुप्ताले गर्नु भएको थियो ।

गाउँपालिकाले गत वर्ष अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्नातकोत्तर तह उत्तिर्ण १० जना र कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगेर विवाह गर्ने २५ जना महिलाहरुलाई सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?