देविस्थानमा खुल्ला वडा स्तरीय पुरुष तथा महिला भलिबल  प्रतियोगिता सुरु

पाल्पा, रामपुर नगरपालिका–४ देविस्थानमा खुल्ला वडा स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल  प्रतियोगिता सुरु भएको छ । कालिका युथ क्लव रामपुर नगरपालिका ४ देविस्थानको पाँचौं वार्षिक उत्सव तथा ऐतिहासिक गंगा दशहरा मेलाको अवसरमा प्रतियोगिता सुरु भएको हो  ।

देविस्थान खेल मैदानमा सुरु भएको प्रतियोगिताको मंगलबार एक कार्यक्रमका विच उट्घाटन गरिएको छ । प्रतियोगिताको उट्घाटन गर्दै रामपुर नगरपालिका ४ का वडा अध्यक्ष राम बहादुर रानाले खेलले युवाहरुको प्रतिभालाई उजागर गर्नुका साथै एकताको भावनाको विकास गर्ने बताउनुभयो । उहाँले युवा संगको सहकार्यमा विकास निर्माण संगै समाज रुपान्तरणमा अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य सिमा देवी थापा, जिल्ला भलिबल संघ पाल्पाका सदस्य कमल राना, नेपाल लोकतन्त्रवादी जनजाति महासंघ रामपुरका उपाध्यक्ष क्याप्टेन धन बहादुर श्रेष्ठ र क्लवका संस्थापक अध्यक्ष तुल बहादुर रानाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कालिका युथ क्लवका अध्यक्ष यम बहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रम क्लवका उपाध्यक्ष रमा श्रेष्ठको स्वागत बाट सुरु भएको थियो । उट्घाटन कार्यक्रमको सञ्चालन क्लवका सदस्य समिर आलेले गर्नु भएको हो । स्थानिय खेल प्रतिभाको उजागर एवं संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको खुल्ला वडा स्तरीय पुरुष भलिबल तथा खुल्ला महिला भलिबल प्रतियोगिता जेठ ३ गते सम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता तर्फ विजेता समुह मध्ये प्रथम, द्वितीय र तृतीय हुने समुहले क्रमश नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, ३३ हजार ३ सय ३३  रुपैयाँ र २२ हजार २ सय २२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महिला भलिबल प्रतियोगिता तर्फ विजेताले नगद २० हजार रुपैयाँ र  उपविजेताले १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । विद्यागत  तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर र उत्कृष्ट लिब्रोलाई पुरस्कार प्राप्त गर्नेछ ।

साथै समापनको दिन रामपुर नगरपालिका वडा नं. ४ को टोल विकास संस्थाहरु मार्फत सांस्कृतिक झाँकी प्रदर्शन सहित विविध सांस्कृतिक कार्यक्रम हुने क्लवले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?