राष्ट्रिय धान दिवस शेरामा भव्यताका साथ मनाईयो (फोटोफिचर)

पाल्पा, २१ औं राष्ट्रिय धान दिवस रामपुर नगरपालिका–२, शेरामा भव्यताका साथ मनाईएको छ । शेरा अमारे कुलो उपभोक्ता समितिको आयोजनामा पञ्चे बाजा सहित रोपाई गरी दही च्युरा खाएर दिवस मनाईएको हो ।

शनिबार सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा विभिन्न स्थानमा धान दिवस तथा रोपाइँ महोत्सव भैरहेको बेला शेरामा स्थानीय कृषक चोप बहादुर थापाले कुलो उपभोक्ता समितिको तर्फ बाट व्यक्तिगत लगानीमा रोपाइँ महोत्सव तथा दही च्युरा खाने कार्यक्रमको आयोजना गर्नु भएको थियो ।

प्रविधिको प्रयोग संगै गोरुको सहयोगमा रोपाइँ गर्ने प्रचलन हराउँदै गैरहेको सन्दर्भमा शेरामा ट्याक्टर संगै चार हल गोरु नारेर रोपाई गरिएको हो । रोपाइँमा सहभागी पुरुषहरुले गोरुको सहायतामा मेलो बनाउने, अघिअघि पञ्चे बाजा र पछि पछि रोपारेहरुले धान रोपेका थिए । प्रौढ देखि युवा तथा बालबालिकाहरु हिलो छ्यापाछ्याप गरेर रमाएका थिए । रामपुर नगरपालिकाका जनप्रतिनिधि, राजनैतिक दल, विभिन्न महिला समुह, कृषि समुह र स्थानीयको उपस्थितिमा रोपाइँ गरिएको हो । रोपाइँ तथा दही च्युरा खाने कार्यक्रम शेरा अमारे कुलो उपभोक्ता समितिका अध्यक्ष चोप बहादुर थापाको अध्यक्षता र रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापाले कृषि प्रधान देश नेपालमा असार पन्ध्रको महत्व पूर्ण स्थान रहेको बताउनुभयो । दिवसको अवसरमा भएका कार्यक्रमहले कृषिको महत्व बुझाउन र उत्पादन वृद्धिमा थप सहयोग गर्ने बताउनुभयो । उहाँले हाम्रो मुख्य आधार कृषि भएकाले व्यवसायिक कृषिमा लाग्न अनुरोध गर्दै नगरपालिकाले सोही आनुसार सहयोग गर्दै आईरहेको बताउनुभयो । उहाँले वीउ तथा कृषि सामाग्री खरिदमा, पकेट क्षेत्र कार्यक्रम, सिंचाई कुलो सुधारका कार्यक्रम र प्रविधिक सहयोग नगरले गर्दै आईरहेको बताउँदै प्राप्त सुविधाको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस रामपुर नगर कार्य समितिका सभापति नेत्र प्रसाद भट्टराईले कृषि क्षेत्रको उत्थानको लागि सरकारले विशेष व्यवस्था गर्नु पर्नेमा जोड दिनुभयो । रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले दिवसको अवसरमा शुभकामना ज्ञापन गर्दै उत्पादन वृद्धिमा लाग्न अनुरोध गर्नुभयो । शेरा अमारे कुलो उपभोक्ता समितिका अध्यक्ष चोप बहादुर थापाले दिवसको अवसर पारेर शेरा अमारे खेतलाई चिनाउन तथा याहाँका समस्याको बारेमा सरोकारवालाहरुलाई जानकारी गराउन कार्यक्रम गरिएको जानकारी दिनुभयो । धेरै वर्ष देखि कार्यक्रम गर्ने योजना बनाएको र सोही अनुसार वडालाई जानकारी गराएर कार्यक्रम गरिएको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै रामपुर नगरपालिका २ का वडा अध्यक्ष कृष्ण बहादुर दर्जीले परम्परागत संस्कृतिको जगेना गर्न कार्यक्रम गरिएको जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन जमुना रानाले गर्नु भएको हो । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँण, वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर राना, वडा नं. ५ का वडा अधयक्ष दुर्गा प्रसाद पोखरेल, वडा नं. ६ का वडा अध्यक्ष दिवाकर देवकोटा, वडा नं. ७ का वडा अध्यक्ष दोवराज तिवारी सहित नगरका अन्य जनप्रतिनिधि र कर्मचारीहरुले पनि सहभागीता जनाउनु भएको थियो ।

रोपाइँमा सहभागीहरुलाई रोपाइँ पश्चात दहीचिउरा प्रदान गरिएको थियो । यस वर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ यस वर्ष २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईएको हो । असार १५ सम्म आउँदा पाल्पामा अहिले सम्म ९ प्रतिशत क्षेत्रमा मात्र रोपाई भएको छ । विगतमा असार १५ सम्ममा ३० प्रतिशत रोपाई सकिने भएपनि मनसुन ढिलो सक्रिय भएका कारणले पाल्पामा सम्पन्न भएको कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोष कुमार चौधरीले जानकारी दिनुभयो । जिल्लामा केही दिन यता मात्र मनसुन सक्रिय भएको छ । विस्तारै रोपाई हुने विश्वास व्यक्त गर्नुभयो । कृषि ज्ञानकेन्द्रका अनुसार पाल्पामा ८ हजार २ सय ४० हेक्टरमा वर्षेधान खेती र चैते धान खेती ७ सय ४२ हेक्टरमा गरी ८ हजार ९ सय ८२ हेक्टरमा धान खेती हुँदै आएको छ । जिल्लाको रामपुर, माडी, पूर्वखोला, हुँगी, अर्गली लगाएतका स्थानमा धानखेती हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?