रामपुरमा विपद् व्यवस्थापन सम्बन्धि प्रतिकार्य तथा पूर्वतयारी बैठक सम्पन्न

पाल्पा, रामपुर नगरपालिकामा विपद् व्यवस्थापन सम्बन्धि पालिका स्तरीय प्रतिकार्य तथा पूर्वतयारी बैठक सम्पन्न भएको छ । वर्षाद संगै आउन सक्ने महामारी जन्य प्रकोप तथा विपद् व्यवस्थापनका लागि रामपुर नगरपालिका स्वास्थ्य शाखाले सरोकारवाला निकायहरुको उपस्थितिमा बैठक राखेर छलफल गरेको हो ।

बैठकमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पूर्व तयारीका लागि आवश्यक जनशक्ति तथा सामाग्रीको व्यवस्थापनको लागि संघ संस्था र सरोकारवालाहरुसंग समन्वय भैरहेको जानकारी दिनुभयो । जनताको सुरक्षाका लागि नगरपालिका प्रतिवद्ध भएर लागिरहेको बताउनुभयो । विपद् व्यवस्थापन कोषका लागि  नगरपालिकाले आवश्यक बजेटको व्यवस्था गर्दै आएको जानकारी दिनुभयो ।

बैठकमा रामपुर अस्पतालका डाक्टर सागर पोखरेलले विपद् व्यवस्थापनको तयारीका  लागि गर्नु पर्ने आवश्यक कार्यहरुको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले जोखिमको सम्भावना अंकलन, विगतका घटनाको मुल्याङ्कन, अत्यावश्यक औषधी तथा सामाग्री र जनशक्तिको व्यवस्थापन संगै र्यापिड रेस्पोन्स टिम गठन गर्नु आवश्यक रहेको बताउनुभयो । रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जिल्ला बाट भएको निर्देशनको बारेमा जानकारी गराउँदै आधिकारिक सूचना प्रवाहका लागि एक द्वारा नीतिको अवलम्बन गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारी संयन्त्र संगै नीजि स्वास्थ्य संस्थाहरु संग पनि सहकार्य भैरहेको बताउनुभयो ।

बैठकमा रामपुर नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा बसेको बैठकको सञ्चालन स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?