एसईईमा उत्कृष्ट अंक ल्याउन सफल कुँवरलाई आत्मनिर्भर महिला समुह द्वारा सम्मान

पाल्पा, माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक सहित उत्तिर्ण हुन सफल पूर्णिमा लक्ष्मी कुँवरलाई आत्मनिर्भर महिला समुह रामपुर नगरपालिका–६, प्याकलुक पाल्पाले सम्मान गरेको छ । एसईईमा समुदाय बाट जिल्ला मै उत्कृष्ट अंक ४ जीपीए सहित उत्तिर्ण हुन सफल कुँवरलाई समुहले विहिबार एक कार्यक्रम गरी सम्मान गरेको हो ।

वडा नं. ६ कै दरैठाँटी माध्यमिक विद्यालय विजयपुर बाट सहभागी हुनु भएको कुँवरलाई समुहले समुदायका व्यक्तित्वहरुको उपस्थितिमा सम्मान पत्र, पाल्पाली करुवा र खादा सहित सम्मान गरेको हो । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य एवं आत्मनिर्भर महिला समुहका सल्लाहाकार विष्णु मायाँ ढकालले पूर्णिमाको मेहेनतले समुदाय मात्र नभै सिङ्गो पूर्वी पाल्पाको नाम उच्च राख्न सफल भएको बताउनुभयो । उहाँले शैक्षिक क्षेत्रमा प्रगति गर्दै राज्यको उच्च तहमा पुगेर सेवा गर्न सक्नेछ भन्नेमा विश्वस्त रहेको बताउँदै अझ सफलताको शुभकामना दिनुभयो ।

ज्याग्दी बृहत पार्कका अध्यक्ष ओम प्रकाश बस्यालले अभिभावक तथा शिक्षकहरुको साथ विद्यार्थीको लगनशिलता र मेहेनत भएमा समुदायिक विद्यालयमा अध्ययनर गरेर पनि राम्रो नतिजा प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण पूर्णिमाले दिन सफल भएको बताउनुभयो । आत्मनिर्भर महिला समुहका उपाध्यक्ष ममता भट्टराईले अझ सफलताको शुभकामना व्यक्त गर्नुभयो । सम्मानित विद्यार्थी पूर्णिमा लक्ष्मी कुँवरले सम्मान ग्रहण गर्दै सबैको साथ र सहयोगले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो । आगामी दिनमा पनि सबैको साथ र सहयोग लिएर अघि बढ्ने बताउँदै उहाँले समाजको शिर कहिल्यै झुक्न नदिने बताउनुभयो ।

ज्याग्दी बृहत पार्कमा भएको कार्यक्रममा पूर्णिमाको बुवा मान बहादुर कुँवर, आमा विष्णु कुँवर र भाई प्रिन्स कुँवरलाई पनि समुहले सम्मान गरेको थियो । आत्मनिर्भर महिला समुहका अध्यक्ष सीता थापाको अध्यक्षतामा भएको कार्यक्रम पूर्व अध्यक्ष उमा भट्टराईको स्वागत र पूर्व सचिव यशोदा पंगेनीको सञ्चालनमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?