निस्दीमा बालमैत्री स्थानीय शासन समितिको बैठक सम्पन्न

पाल्पा, २२ असार ।
पाल्पाको निस्दी गाउँपालिकामा बालमैत्री स्थानीय शासन मूल समितिको बैठक तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । बिहिबार बहुउद्देश्यीय सभाहल बसेनी हलमा बसेको बैठकमा मूल समितिका सदस्यहरु, पत्रकार, सुरक्षाकर्मी लगायतको बैठक तथा कार्यक्रममा सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले लुम्बिनी प्रदेशको १ सय ९ पालिकामध्ये निस्दी गाउँपालिकामा बालविवाह बढी भएको तथ्यांक सार्वजनिक भएपछि सबैभन्दा धेरै बजेट विनियोजन गरेर बालमैत्री स्थानीय शासन लागु भएको पालिका घोषणा गर्ने कार्यक्रम अघि बढाएको बतिाउनुभयो । उहाँले हरेक नागरिकमा बालविवाह गर्नु हुँदैन भन्ने चेतना फैलाउने गरी काम भइरहेको बताउँदै बताउनुभयो ।

अशिक्षा, चेतनाको अभाव, भौगोलिक रुपमा दुर्गम र जनजाती वस्ती भएकाले नियन्त्रणमा निकै समस्या रहे पनि त्यसलाई समाधानका लागि हरेक प्रयास खोजिएको जानकारी गराउनुभयो । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बालविवाह गर्नेको संख्या घटेको साथै अभिभावक शिक्षालाई जोड दिइएको उहाँले बताउनुभयो । गाउँपालिकाकी उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले बालविवाहका कारण हुने समस्याहरुका विषयमा चेतना फैलाउनुका साथै गाउँपालिकाले प्रमुख कामका रुपमा यसलाई लिएर अघि बढेकाले सफलता पनि प्राप्त हुँदै गएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले गाउँपालिकाले बालमैत्री शाखा, वडावडामा कर्मचारी परिचालन लगायत अभिभावक शिक्षा, विद्यालयका विद्यार्थीलाई बालविवाह विरुद्धका चेतनामूलक कार्यक्रम गर्नका लागि बजेटमै प्राथमिकता दिएर काम गरेको बताउनुभयो । बालबचाउ, सहभागिता, संरक्षण, विकास, संस्थागत विकासका सूचक पूरा गर्नका लागि काम गर्दै अघि बढेको उहाँले बताउनुभयो ।

गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारीले अघिल्लो आर्थिक वर्षमा २ सय ७६ बालविवाह तथा गैरकानुनी विवाह भएकोमा चालु आर्थिक वर्षमा ५२ मात्र हुनु पनि काम गरेको सफलता देखिएको बताउनुभयो । बालमैत्री शाखा प्रमुख कुस्माखर पाण्डेयले ५१ वटा सूचकका विषयमा जानकारी गराउनुका साथै अहिलेसम्म भएका कामको अवस्थाबारे जानकारी गराउनुभयो । उहाँले गाउँपालिकाका सबै विषयगत शाखाका साथै विद्यालय, अभिभावक, प्रहरी, पत्रकार, विद्यार्थी, बालक्लब लगायतको सहभागितामा भएका कार्यक्रमले धेरैभन्दा धेरै उपलब्धि देखिएको बताउनुभयो । उहाँले आगामी दिनमा सबैको सक्रियता भयो भने २०८३ चैतसम्ममा गाउँपालिकालाई बालमैत्री स्थानीय शासन लागु भएको गाउँपालिका घोषणा गर्न सकिने बताउनुभयो ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक शालिकराम खनालले प्रहरीको तर्फबाट हुने सम्पूर्ण सहयोग गर्न आफूहरु प्रतिवद्ध रहेको बताउनुभयो । बालविवाह भयो भन्ने जानकारी पाउनासाथ अहिलेसम्म पुग्ने गरेको र इलाका प्रहरीको मातहतका केलादी, जब्गादी साथै मित्याल प्रहरी चौकीबाट पनि सहयोग गर्दै आएको बताउनुभयो । नेकपा एमाले निस्दी गाउँपालिकाका प्रमुख रामबहादुर पाटा थापाले हरेक नागरिकलाई सचेत बनाउने अभियानले आगामी दिनमा सार्थकता पाउने बताउनुभयो । कार्यक्रममा नेपाली काँगे्रेस निस्दीका प्रमुख अलंकविर सुनारीले राजनीतिक दलकातर्फबाट सधैं सघाउन तयार रहेको बताउनुभयो ।

निस्दी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन अर्यालको अध्यक्षतामा भएको बैठक शिक्षा शाखा प्रमुख नर बहादुर थापाको स्वागत र बालमैत्री शाखा प्रमुख कुस्माखर पाण्डेयको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?