बेझाँडमा उपकार सुपरमार्टको शाखा संगै कपडा बैंक स्थापना

असार २२
पाल्पा, पाल्पाको रामपुर नगरपालिका–५, बेझाँडमा उपकार सुपरमार्ट प्रा.लि.को दोस्रो शाखा संगै कपडा बैंक स्थापना भएको छ । मटेरी ठूलोटार देखि सेवा प्रदान गर्दै आएको मार्टले शनिबार देखि बेझाँड बजार चोकमा दोस्रो शाखा सञ्चालनमा ल्याएको हो ।

साथै उपकार सुपर मार्ट प्रा.लि.ले क्लोथ एण्ड फुड बैंक नेपालको समन्वयमा कपडा बैंकको स्थापना गरेको छ । उपकार सुपरमार्ट प्रा.लि.को दोस्रो शाखा संगै कपडा बैंकको ड्रप बक्सको महानायक एवं क्लोथ एण्ड फुड बैंक नेपालका संरक्षक राजेश हमालले समुद्घाटन गर्नु भएको हो । मार्ट संगै कपडा बैंकको उट्घाटन गर्दै हमालले केही महिना अघि बुटवल देखि सुरु भएको क्लथ बैंक स्थापना कार्य देशको मुख्य शहर हुँदै पूर्व मेची देखि पश्चिम महाकाली सम्म स्थापनाको क्रममा रहेको बताउनुभयो । कपडा बैंक गरिब तथा निम्न वर्गका लागि मात्र नभै आवश्यक पर्ने सबैको लागि रहेको स्पष्ट पार्नुभयो ।

आर्थिक मन्दीको अवस्थामा पनि युवाहरुले फरक ढंगका साथ सञ्चालमा ल्याएको मार्ट संगै कपडा बैंक स्थापना हुनु खुशीको कुरा भएको बताउनुभयो । बजारमा किनमेलको लागि आउँदै गर्दा धेरै कपडा हुनेले बक्समा ल्याएर जम्मा गर्न र प्रशोधन गरेर ल्याईएको लुगा आवश्यक पर्नेले लिएर जान आग्रह गर्नुभयो । पाल्पा आफ्नो जन्मथलो भएको बताउँदै पाल्पाको भुगोल र पाल्पाली संग नजिक भएर काम गर्न पाउँदा खुशी लागेको बताउनुभयो । हमालले कपडा बैंक स्थापना संगै यात्रा नेपाल डकुमेन्ट्री छायाँङ्कनको लागि आएको बताउनुभयो । उहाँले सबैभन्दा पहिला पाल्पा र पाल्पाको पनि रामपुरमा बाट छायाँङ्कन सुरु गरिएको जानकारी दिनुभयो ।

क्लोथ एण्ड फुड बैंक नेपालका अध्यक्ष कमल जिसीले स्थानीय सरकार र विभिन्न संघ संस्था संग समन्वय गरी कपडा बैंक स्थापना गर्ने क्रम चलिरहेको जानकारी दिनुभयो । उहाँले संकलन भएको कपडा प्रशोधन गरी विपद्मा परेका नागरिक तथा आवश्यक परेका सबैलाई वितरण गर्दै आईरहेको बताउनुभयो । सबै वर्ग, तहका नागरिकले कपडा बैंक बाट आवश्यक कपडा प्रयोग गर्न सकिने बताउनुभयो । उहाँले खान र लाउने वस्तुको कसैलाई अभाव नहोस् भन्ने उद्देश्यका साथ लामो समयको अध्ययन पछि कपडा बैंक स्थापना सुरु गरिएको बताउनुभयो ।
उहाँले आगामी दिनमा बढी भएका खानेकुराको संकलन गरी खाद्यान्न अभाव भएका स्थानमा पुर्याउने व्यवस्था समेत गर्न गैरहेको जानकारी गराउनुभयो ।

क्लोथ एण्ड फुड बैंक नेपालका सल्लाहाकार राजिव पौडेलले कपडा बैंकको बारेमा जानकारी गराउँदै संकलन भएको कपडा प्रशोधन गरी प्रयोग गर्न योग्य बनाएर मात्र वितरण गरिने भएकाले धेरै लुगा हुनेले जम्मा गर्न र नहुनेले धुक्क भएर प्रयोग गर्न अनुरोध गर्नुभयो । कपडा बैंक स्थापनाका लागि किङ्गस क्लव र रामपुर फिटनेश सेन्टरले पनि सहयोग गरेको छ ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले कपडा बैंकलाई दिगो रुपमा सञ्चालन गर्नका लागि उद्यागी तथा निजी क्षेत्रको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । ढकालले मार्टलाई सफलताको शुभकामना दिनुभयो । उपकार सुपरमार्ट प्रा.लि.का अध्यक्ष विष्णु प्रसाद गौतमले व्यवसाय मात्र नहेरी सामाजिक सेवा भावका साथ क्लोथ एण्ड फुड बैंक नेपाल संग समन्वय गरेर बक्स स्थापना गरिएको जानकारी दिनुभयो । १०० जना बढी युवाहरुको सक्रियतामा स्थापना भएको मार्टमा दैनिक उपभोगका सामग्री संगै घरायसी उपयोगका सम्पूर्ण सामानहरु एउटै स्थान बाट प्राप्त गर्न सकिने जानकारी गराउनुभयो ।

कार्यक्रमको सञ्चालन उपकार सुपरमार्टका सञ्चालक दिल बहादुर पुलामीले गर्नु भएको हो । क्लोथ एण्ड फुड बैंक नेपालले जिल्लामा यस अघि रिब्दीकोट गाउँपालिकाको समन्वयमा कपडा बैंक स्थापना गरिसकेको छ । कार्यक्रममा अविरल वर्षादका विच सयौंको संख्यामा स्थानीयहरुको भिड लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?