असार २३
पाल्पा, अविरल वर्षासँगै खोलामा आएको बाढीले बगाएर पाल्पामा एक महिलाको मृत्यु भएको छ । माथागढी गाउँपालिका–६, गोठादीको ६८ वर्षीय रीमासरा रानाको रहवास स्थित चिर्तुङखोलाले खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार कामको सिलसिलामा गोठादीको सातपोखरी गएर माहिलाचौर फर्कने क्रममा रानालाई खोलाले बगाएर बेपत्ता भएको र खोजतलास गर्ने क्रममा राति मात्र ५ सय मिटर टाढा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । खोलाले बगाएको जानकारी पाएसँगै स्थानीयवासी र प्रहरीको खोजतलास गरेका थिए ।
यस्तै वर्षासँगै चिसोले कठ्याङ्ग्रिएर तानसेन नगरपालिका–५, मा ४२ वर्षीय शेरबहादुर विकको मृत्यु भएको छ । मादकपदार्थ सेवन गरेर चिसोमै लडेका उनको कठ्याङ्ग्रिएर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ । तीन दिनदेखिको अविरल वर्षाले पाल्पाको बगनासकाली–६, यम्घाको टारीमा दुई घर पहिरोले पुरिएको वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले बताउनुभयो । सोही गाउँमा तीन घर पहिरोको जोखिममा रहेको छ । यम्घा टारीका उषा सुनार र रेशम सुनारको घर माथिबाट आएको पहिरोले पुरिएको हो । पहिरोले घर पुरिँदा घरभित्रका सामान, लत्ताकपडा, अन्नपात सबै नष्ट भएको वडाध्यक्ष अधिकारीले बताउनुभयो ।
पाल्पाकै रिब्दीकोट–३, खस्यौलीका सूर्यप्रसाद नेपालको घर पहिरोका कारण जोखिममा परेको छ । तानसेन नगरपालिका–१४, अर्गलीमा मीनबहादुर कुंवरको घरछेउबाट पहिरो गएपछि जोखिममा परेको प्रहरीले जनाएको छ । अर्गलीकै मिलन थापाको घरआँगनबाट पहिरो खसेपछि जोखिममा परेको छ । शनिबार विहान पहिरोले रामपुर नगरपालिका–९, मधुकोटमा कमलबहादुर साठीघरेको गोठ पुरिँदा चार वटा पशुचौपाया मरेको छ । गोठमा रहेको १ वटा भैंसी र ३ वटा बाख्रा पुरेको हो ।