साउन १ ।
पाल्पा, आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने संक्रान्तिका रुपमा मनाइँदैछ।साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ।
माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई विशेष रुपमा मनाइन्छ । यस्तै असार महिनाभर धान रोपाइँ लगायतका खेतीपातीमा व्यस्त कृषकहरु हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउँदै छन् । हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलन समेत छ । परम्परानुसार काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी साँझपख अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ ।
यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास छ ।आजको दिन तिउरी कुटेर हात तथा गोडामा लगाउने प्रचलन ग्रामीण भेगहरुमा पाईन्छ । आजको दिन तिउरी छुनु पर्छ भन्ने मान्यता रहेको छ । सक्रान्तिको साँझ पख तिउरी जम्मा गरि सामुहिक रुपमा लगाउने प्रचलन हराउँदै गएको छ । मेहेन्दीले प्रतिस्थापन गर्दा परम्परागत शैली हराउँदै गएको हो । साउन महिना भगवान् शिवको पूजा गरेर पनि मनाइन्छ । महिलाहरुले हरियो चुरा, रातो, पहेँलो वस्त्र, मेहन्दी लगाउँछन् र साउनको प्रत्येक सोमबार व्रत बसेर शिवको पूजा गर्दछन् । साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लाग्छ ।