रेडक्रस रामपुर उपशाखा द्वारा अग्नी पीडित परिवारलाई राहत रकम प्रदान

साउन ५ ।
पाल्पा, रामपुर नगरपालिका वडा नं. ४ र ५ का अग्नी पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा रामपुरले सहयोग गरेको छ । गत बैशाख १९ गतेमा जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि भएको आगलागी बाट पीडित ९ घरपरिवारलाई शनिबार एक लाख १३ हजार रुपैयाँ प्रदान गरेको हो ।

आगलागी बाट क्षति भए संगै रामपुर उपशाखाले सामाजिक सञ्जाल मार्फत पीडित परिवारको सहयोगको लागि अपिल गरेको थियो । विभिन्न व्यक्ति तथा संस्थाहरु बाट संकलन भएको रकम रामपुर ४ देविस्थानमा कार्यक्रम गरी प्रदान गरेको हो । नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाका सभापति मनोरथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाल्पाका सहमहामन्त्री कमलराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको हो ।

अग्नी पीडित परिवारलाई राहत रकम हस्तान्तरण गर्दै प्रमुख अतिथी भट्टराईले विपद्का घटना लगतै रेडक्रसले आधारभूत आवश्यकताका सामग्री उपलब्ध गराउँदै आएकोमा रामपुर उपशाखाले थप महत्वपूर्ण कार्य गरेको बताउनुभयो । विपद् व्यवस्थापन संगै रेडक्रसले पाल्पामा विरामीको लागि आवश्यक रगत व्यवस्थापन गर्न ब्लड बैंक स्थापनाको तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले ब्लड बैंक स्थापनाको महाअभियानमा जोडिन सबैलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिका ४ का वडा अध्यक्ष राम बहादुर रानाले विपद्को समयमा रेडक्रसले दिएको योगदानको प्रशंसा गर्दै वडाले विभिन्न संस्थाहरु संग समन्वय गर्दै काम गर्दै आईरहेको जानकारी दिनुभयो ।

रामपुर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले रेडक्रसले नागरिकको जीवन रक्षाको लागि निस्वार्थ भावका साथ निरन्तर सहयोग गर्दै आएको बताउनुभयो । रामपुर ७ का वडा अध्यक्ष दोवराज तिवारीले रामपुर उपशाखाको सक्रिय गतिविधिले थप टेवा दिएको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाका सभापति मनोरथ भट्टराईले पीडित परिवारको लागि सामाजिक सञ्जाल मार्फत सहयोग आह्वान गरिएकोमा ९४ जना व्यक्ति तथा संस्था मार्फत सहयोग रकम प्राप्त भएको जानकारी दिनुभयो । संकलन भएको एक लाख १३ हजार रुपैयाँ रकम वडा नं. ५ को गैरा टोलका ५ परिवार र वडा नं. ४ को समाङ्गसिङ्ग, गिजिनडाँडा टोलका ४ परिवारलाई क्षतिको आधारमा प्रदान गरिएको हो । नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाका सचिव तिल बहादुर श्रेष्ठले उपशाखाले सहयोगको लागि सञ्चालन गरेको पहिलो पटकको अभियानमा सबैले साथ दिएको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाका सदस्य जनकराज ढकालको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव तिल बहादुर श्रेष्ठले गर्नु भएको हो । कार्यक्रममा जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी संगै सरोकारवाला व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?