साउन ८ ।
पाल्पा, पाल्पाको तानसेन नगरपालिकाले नगरपालिकाले कृषकहरूलाई कृषि यन्त्र तथा मौरी घार वितरण गरेको छ । कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर,मौरी घार र डिजिटल तराजु प्रदान गरेको हो।
तानसेन नगरपालिकाका सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठ, नगर उप प्रमुख प्रतिक्षा सिंजाली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला मंगलबार संयुक्त रूपमा कृषकहरूलाई कृषि यन्त्र तथा मौरी सम्बन्धी सामाग्री वितरण गर्नुु भएको हो । नगरपालिकाले तानसेनका वडा कार्यालयबाट सिफारिस भएर आए बमोजिम ४७ जनालाई हाते ट्याक्टर, ४ सय ८५ जनालाई मौरी घार र मौरीजन्य सामाग्री तथा ५८ जनालाई डिजिटल तराजु प्रदान गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख सरोज तिमिल्सिनाले बताउनुभयो ।
नगर प्रमुख सन्तोषलाल श्रेष्ठले परम्परागत कृषि प्रणालीलाई यान्त्रिकरण र व्यवसायीकरण गर्न नगरपालिकाले कृषि यन्त्र तथा मौरी सम्बन्धी सामाग्री वितरण गरेको बताउनुभयो । तानसेन नगरपालिकाको सम्भावना कृषि र पर्यटनबाट नै सम्भव रहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँ भन्नुभयो, ‘तानसेन नगरपालिकाको अधिकाश भु-भाग ग्रामीण परिवेश रहेको छ । ग्रामीण परिवेशका अधिकांश नागरिकहरू कृषि र पशुपालन पेशामा आवद्व रहेका छन् । त्यसैले नगर सरकारले कृषकहरूको मागलाई मध्ये नजर गरि वडा कार्यालयको सिफारिस बमोजिम अनुदानमा कृषि यन्त्र तथा मौरी सम्बन्धी सामाग्री वितरण गरिएको हो ।’कृषिमा यान्त्रिककरण र आधुनिकिकरणको अभावले नगर क्षेत्रमा लक्ष्य अनुसारको उब्जनी हुन सकेको छैन् ।’
खनजोत देखि मलजल सम्मका विविध पक्षमा आबश्यक ज्ञान तथा साधन नहुँदा पनि कृषि क्षेत्रमा निकै समस्या देखिएको बताउनुभयो । नगर सरकारले यस तर्फ ध्यान दिदै कृषकहरूलाई कृषि यन्त्र तथा मौरी सम्बन्धी सामाग्री वितरण गरेको बताउनुभयो । नगर सरकारले नगर भित्रका मौरी पालन सम्भावना हुने क्षेत्रलाई मौरी पालन पकेट क्षेत्रको रूपमा विकास गर्न खोजेको बताउनुभयो । सोही अनुरूप नगर सरकारले यो करिब ४ सय ८५ जना कृषकहरूलाई मौरी घार र मौरीजन्य सामाग्री प्रदान गरेको बताउँदै आगामी बर्ष थप मौरीपालनको सम्भाव्यता अध्ययन गरि पकेट क्षेत्रको रूपमा अगाडि बढाउने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख प्रतिक्षा सिंजालीले हाते ट्याक्टर मार्फत कृषि कर्ममा लागेका किसानलाई आधुनिक कृषि प्रणालीसंग जोड्न सजिलो हुने,खेत तथा पाखोबारीमा पनि सजिलै प्रयोग गर्न सकिने भएकाले किसानलाई हाते ट्याक्टर दिइएको बताउनुभयो । आर्थिक समृद्धिका लागि कृषि नै पहिलो रोजाई भएकाले नगरपालिकाले कृषि र बन पैदावारको औद्योगिकरण गरी रोजगारीमा ध्यान दिन आवश्यक रहेको र सोही अनुरूप नगर सरकारले आफ्ना गतिविधि अगाडि बढाएको बताउनुभयो । उप प्रमुख सिंजालीले भन्नुभयो ‘सहुलियत अनुदानमा गरिएको वितरणले यहाँको कृषि उत्पादनमा यान्त्रीकरणको प्रयोग बढ्ने अपेक्षा रहेको र उक्त उत्पादनको बजारीकरणका लागि पनि नगर सरकारले सहजीकरण गर्ने छ।’
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले कृषि यन्त्र खरिद बापत हाते ट्याक्टर,चाप कटर र डिजिटल तराजु कुल ४० लाख बजेटबाट र मौरीजन्य सामाग्री कुल २० लाख बजेटबाट वितरण गरेको बताउनुभयो । नगरपालिकाले उपलब्ध बजेट र किसानको मागका आधारमा नगर भित्रका विभिन्न व्यक्ति, समुह, फर्म र सहकारीलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको बताउनुभयो । घर भन्दा टाढा रहेका जग्गामा गोरुद्धारा हलो लिई खनजोत गर्न नसकि बाँझो रहेका जग्गा अब प्रयोगमा आउने कृषक चन्द्र बहादुर सोमैले बताउनुभयो । उहाँले कृषि यन्त्र तथा मौरी सम्बन्धी सामाग्री फागुन भित्र नै वितरण गर्नुपर्ने तर वितरण ढिलो भएकोमा गुनासो गर्नुभयो ।
कार्यक्रममा तानसेन वडा न १ का वडा अध्यक्ष सुनिल कुमार बस्याल,वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्य,वडा न ६ का वडा अध्यक्ष सागर मान महर्जन,कार्यपालिका सदस्यहरू,वडा सदस्यहरू,नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरू,कृषकहरू लगाएतको उपस्थिति रहेको थियो ।