रामपुर–२ मा सुत्केरीलाई कुखुराको भाले र घ्यू उपहार

साउन १४ ।

पाल्पा, रामपुर नगरपालिका–२, पाल्पाले वडा भित्रका सुत्केरी महिलालाई लोकल कुखुराको भाले र घ्यू उपहार दिन सुरु गरेको छ । वडा भित्रको स्वास्थ्य संस्थामा प्रसुति सेवा लिएका सुत्केरी आमालाई ‘गर्भवती, सुत्केरी तथा बालबालिका पोषण कार्यक्रम’ मार्फत चालु आर्थिक वर्ष देखि सुत्केरी भएका महिलालाई पोषणको लागि एक वटा कुखुराको भाले र एक केजी घ्यू दिन सुरु गरेको हो ।

चालु आर्थिक वर्ष देखि वडाले सुत्केरी आमा र शिशुको पोषणलाई मध्यनजर गर्दै वडा कार्यालयले घर मै पुगेर भाले र घ्यू उपहार दिन  सुरु गरेको वडा कार्यालयले जनाएको छ । स्वास्थ्यकर्मी सहित गएको वडाका जनप्रतिनिधि र कर्मचारीले सोमबार भलायटारका नेत्र कुमारी थापा र खयरबोटका सीता नेपालीलाई उपहार प्रदान गरी कार्यक्रमको शुभारम्भ गरेको हो । कार्यक्रममा रामपुर नगरपालिका २ का वडा अध्यक्ष कृष्ण बहादुर दर्जी, वडा सदस्य शिव शंकर जिसी, तेज कुमारी नेपाली, टकमाया थापा, खेम बहादुर कुमाल, वडा सचिव तारानाथ पोखरेल, आधारभूत स्वास्थ्य केन्द्र भलायटारका प्रमुख तिलकराम सोती, अनमी शान्ति थापा लगाएतको उपस्थिति रहेको थियो ।

प्रसुति स्याहार घर भेटघाटका लागि गएको स्वास्थ्यकर्मीले सुत्केरी महिलाको स्वास्थ्य अवस्था जाँच गरे पछि सुत्केरी महिलाहरुलाई पोषणका लागि सामग्री प्रदान गरेको थियो ।   पोषणयुक्त खाना खुवाउनु पर्छ भन्ने सन्देश दिन र जनप्रतिनिधिले सुख, दुःख र अन्य समस्याका बारेमा परामर्श प्रदानका लागि कार्यक्रमको सुरुवात गरिएको वडा नं. २ का अध्यक्ष कृष्ण बहादुर दर्जीले बताउनुभयो । विपन्न परिवारमा सुत्केरी अवस्थामा स्याहार सुसार कम हुने भएकाले सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खुवाउन पर्छ भन्ने सन्देश दिन कार्यक्रम सञ्चालन गरिएकोे स्पष्ट पार्नुभयो । वडा नं. २ का सचिव तारानाथ पोखरेलले नियमित गर्भ जाँच र संस्थागत सुत्केरी गराउने आमाहरुलाई अण्डा वितरण गर्दै आईरहेकोमा यस वर्ष एक लाख रकम विनियोजन गरी सुत्केरी आमालाई भाले र घ्यू समेत उपहार दिन थालिएको बताउनुभयो ।

आधारभूत स्वास्थ्य केन्द्र भलायटार बाट प्रसुति सेवा लिएका तथा केन्द्र बाट रिफर भएर अन्य स्वास्थ्यमा सुत्केरी भएका आमाहरुलाई कुखुरा र घ्यू प्रदान गरिने स्वास्थ्य केन्द्रका प्रमुख तिलकराम सोतीले जानकारी दिनुभयो । आधारभूत स्वास्थ्य केन्द्र भलायटारमा २०७७ देखि वर्थिङ सेन्टर सञ्चालन रहेको छ । बालमैत्री स्थानीय शासन सञ्चालन लागु गर्नको लागि कार्यक्रम सञ्चालनमा रहेको वडामा वर्थिङ सेन्टर सञ्चालन संगै वडामा होम डेलिभरी शुन्य रहेको छ । सोतीका अनुसार वडाको सहयोगमा गर्भ जाँचको लागि स्वास्थ्य संस्था आउँदा चार पटक र संस्थागत सुत्केरी पश्चात एक पटक गरी एक÷एक क्यारेट अण्डा दिदै आएकोमा अन्य उपहार पनि थप भएको हो । वडाले स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन एम्बुलेन्स आवश्यक परेमा एक तर्फीको लागि निःशुल्क एम्बुलेन्स सेवा पनि प्रदान गर्दै आएको छ । वर्थिङ सेन्टर बाट वार्षिक २० जनाले प्रसुति सेवा लिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?