३० औं विश्व आदिवासी दिवस रामपुरमा पनि मनाईयो

साउन २५ ।
पाल्पा, विभिन्न कार्यक्रम गरी ३० औं विश्व आदिवासी दिवस रामपुरमा पनि मनाइएको छ । आदिवासी जनजाति समुदायको झाँकी तथा ¥याली सहित कार्यक्रम गरी विश्व आदिवासी जनजाति दिवस मनाईएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ नगरपालिका समन्वय परिषद् रामपुरको आयोजना, नेपाल आदिवासी जनजाति महासंघ गाउँपालिका समन्वय परिषद् निस्दी, पूर्वखोला र रम्भाको सहआयोजना र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । मगर, नेवार, कुमाल, भुजेल, माझी, बोटे जातिको सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

रामपुर नगरपालिकाको प्राङ्गण बाट सुरु भएको झाँकी तथा ¥याली बेझाँड बजार हुँदै नमस्ते पाल्पा होटलको सभाहलमा पुगेर समारोहमा परिणत भएको थियो । ¥यालीका क्रममा जनजाति समुदायका अगुवा तथा अभियन्ताहरुले विश्वका आदिवासी जनजातिको एकता, ज्ञान सीप, भाषा, भेषभूषा, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने भन्दै विभिन्न प्ले–कार्डसहित प्रदर्शन गरेका थिए । नेपाल आदिवासी जनजाति महासंघ नगरपालिका समन्वय परिषद् रामपुर पाल्पाका अध्यक्ष बोम बहादुर नाम्जालीको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले आदिवासी जनजातिको हकहितको लागि आयोग बनेर मात्र होईन तल्लो तह बाटै एकता बद्ध भएर लाग्न आग्रह गर्नुभयो । उहाँले आदिवासी जनजातिको पक्षमा संसद्मा आवाज उठाउने बताउनुभयो । आदिवासी जनजाति समुदायलाई आरक्षणमा मात्र सिमित नभै खुल्ला प्रतिस्पर्धा बाट आउनका लागि प्रयत्न गर्दै अघि बढ्नु पर्ने बताउनुभयो । संघियताको बारेमा आफ्नो धारणा राख्दै श्रेष्ठले आफ्नै तरिकाले व्याख्या हुँदै गर्दा संघियता प्रति जनतामा वितृष्णा फैलिएको भन्दै समानुपातिक निर्वाचन पद्धति खारेज हुनु पर्ने बताउनुभयो ।
निस्दी गाउँपालिकाका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले दिवसको अवसरमा शुभकामना दिदै स्थानीय सरकारले आदिवासी जनजाति समुदायको उत्थानको लागि कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले आदिवासी जनजाति समुदायको संस्कृति संरक्षण संगै सामाजिक, आर्थिक रुपमा सक्षम बनाउन निस्दी गाउँपालिकाले आवश्यक बजेटको व्यवस्था गरी कार्यक्रम गर्दै आएको जानकारी गराउनुभयो । नेपाल आदिवासी जनजाति महासंघ गाउँपालिका समन्वय परिषद् निस्दी पाल्पाका अध्यक्ष ङन सिंजालीले हाम्रो मौलिक भाषा, संस्कृति लोपहुने अवस्थामा रहेकाले संरक्षण र प्रवद्र्धनमा जोड दिनु पर्ने बताउनुभयो । कार्यक्रमको उद्देश्य माथि नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, पाल्पाका अध्यक्ष गम बहादुर थापाले प्रकाश पार्नु भएको थियो । उहाँले आदिबासी जनजाति समुदायको वर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै संविधानमा भएका व्यवस्था अझै लागु नभएको बताउनु भएको थियो ।

नेपाल आदिवासी जनजाति महासंघ गाउँपालिका समन्वय परिषद् पूर्वखोला पाल्पाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल आदिवासी जनजाति महासंघ नगरपालिका समन्वय परिषद् रामपुरका सचिव विन्दु श्रेष्ठ र सहसचिव सुनिता रानाले गर्नु भएको हो । संयुक्त राष्ट्रसङ्घले सन् १९९४ को अगष्ट ९ देखि विश्व आदिवासी दिवस मनाउन सुरु गरेको थियो । त्यसयता आदिवासीहरुले वर्षेनी यो दिवस मनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?