साउन २६ ।
पाल्पा, रामपुर नेवाः समाज रामपुर पाल्पाको दोस्रो साधारण सभा सम्पन्न भएको छ । समाजले शनिबार वार्षिक नीति तथा कार्यक्रम, गत वर्षको आयव्याय पारित गर्दै र विभिन्न उपसमिति गठन सहित साधारण सभा सम्पन्न गरेको हो ।
न्यू होटल श्रीनगरको सभाहलमा भएको साधारण सभा रामपुर नेवाः समाज रामपुर पाल्पाका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । साधारण सभाको उट्घाटन गर्दै प्रमुख अतिथी श्रेष्ठले रामपुर नगर आफैमा संस्कृतिले भरिपूर्ण रहेको भन्दै याहा रहेका नेवार समुदाय, मगर समुदाय, ब्राह्मण समुदाय सबै संस्कृति संरक्षणका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । रामपुरको पर्यटन प्रवद्र्धनका लागि याहाँको भुगोल संगै संस्कृति मुख्य आधार भएको बताउँदै थापाले यस वर्ष लुम्बिनी प्रदेश सरकार मार्फत सांस्कृतिक संग्राहालयको लागि बजेट विनियोजन भएको जानकारी दिनुभयो । अन्य समुदायको संग्राहालय निर्माण तथा संस्कृति प्रवद्र्धनमा पनि आवश्यक पहल गर्ने बताउनुभयो ।
आदिवासी जनजाति समुदाय प्रतिस्पर्धामा अझै पछि रहेको भन्दै सरकारले दिएको कोटामा मात्र सिमित नभएर खुल्ला प्रतिस्पर्धा गर्ने हिम्मतका साथ अघि बढ्न आग्रह गर्नुभयो । संस्कृतिमा धनी नेवार समुदायमा पनि पछिल्लो समय संस्कृतिको गलत प्रयोग, भड्कीलो बन्दै गैरहेको प्रति चिन्ता व्यक्त गर्दै गलत संस्कारलाई तोड्नु आवश्यक रहेको बताउनुभयो । उहाँले आदिबासी जनजाति समुदायको संस्कृति पनि जोगाउँदै प्रविधिको युयमा नयाँ प्रविधिलाई प्रयोग गर्दै अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । पुर्खाले नेवार समुदायका सन्ततीलाई व्यापार गर्न र कृषि कार्य गर्न मार्ग देखाए पनि अब नयाँ प्रविधिको प्रयोग गर्दै प्रतिस्पर्धा गर्ने समय आएको बताउनुभयो ।
रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले वार्षिक कार्ययोजना बनाएर नेवारी संस्कृतिलाई थप पहिचान दिनुका साथै पर्यटन प्रवद्र्धनका कार्य अघि बढाउन सुझाव दिनुभयो । नेवारी समुदायको आफ्नै मौलिक संस्कृति र संस्कार रहेको भन्दै उहाँले सामुदायिक भवन निर्माण संगै होमस्टेको अवधारणा अघि बढाउन अनुरोध गर्दै संघले पनि संस्कृतिको प्रवद्र्धनमा आवश्यक सहयोग गर्दै आएको जानकारी दिनुभयो । नेवाः देय दबू रामपुर नगर कार्यसमितिका अध्यक्ष रुद्र नारायण श्रेष्ठ हाम्रो मौलिक भाषा संस्कृतिलाई संरक्षण गर्नका लागि एकले अर्कोलाई सहयोग गर्दै अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । नेवाः देय दवुू रामपुरका वरिष्ठ उपाध्यक्ष मोहन प्रसाद श्रेष्ठले छरिएर रहेका समुदायलाई संगठित गर्दै अघि बढेको बताउनुभयो ।
साधारण सभामा रामपुर नेवाः समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठले गत वर्षको प्रगति प्रतिवेदन र आगामी योजना प्रस्तुत गर्दै सांस्कृतिक संग्राहालय निर्माणको प्रक्रियालाई अघि बढाईएको जानकारी दिनुभयो । उहाँले समाजमा आवद्ध हुन चाहानेहरुको लागि आजिवन सदस्यता खु्लाउने निर्णय गरेको बताउनुभयो । रामपुर नेवाः समाजका कोषाध्यक्ष राज कुमार श्रेष्ठले साधारण सभामा ३४ लाख बराबरको आर्थिक प्रतिवेदन पेस गर्नु भएको थियो । त्यस्तै साधारण सभाले समाजको गतिविधिलाई थप चलायमान बनाउन विभिन्न उपसमिति गठन गरेको छ । समाजका कोषध्यक्ष राजकुमार श्रेष्ठको संयोजकत्वमा निर्माण समितिका उपसमिति, सदस्य प्रेम प्रकाश श्रेष्ठको संयोजकत्वमा सांस्कृतिक उपसमिति, सचिव विमल श्रेष्ठको संयोजकत्वमा आर्थिक उपसमिति र उपाध्यक्ष सुककमाया श्रेष्ठको संयोजकत्वमा महिला परिचालन उपसमिति गठन गरेको छ ।
संस्थाका उपाध्यक्ष सुकमाया श्रेष्ठको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव विमल श्रेष्ठले गर्नु भएको हो । साधारण सभाको अवसरमा मोहन प्रसाद श्रेष्ठलाई पहिलो आजिवन सदस्यता प्रदान गरेको छ ।