साउन २८ ।
पाल्पा, पाल्पाको तिनाउ गाउँपालिका–५, मा सोमबार दिउँसो हाईस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बुटवलदेखि पोखरातर्फ आउँदै गरेको ग २ ख १२२५ नम्बरको हाईस सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल खण्डको जोरधारामा दुर्घटना भएको थियो ।
हाईस अचानक अनियन्त्रित भई सडक किनारको पर्खालमा ठोक्किन जाँदा भएको दुर्घटनामा गाडीमा सवार ८ मध्ये ७ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिनुभयो । उहाँका अनुसार घाईते हुनेहरुमा तानसेन नगरपालिका–१०, पाल्पाका ३० वर्षीया लक्ष्मी कार्की, सरावल गाउँपालिका –७, नवलपारासी पश्चिमका ३० वर्षीय राजेश गुप्ता, सोही ठाउँका २५ वर्षीय रामु सहानी, २२ वर्षीय मेराज मन्चुरी, २९ वर्षीय दिपेन्द्र कुमार कुसहवा, स्याङ्जाको भिरकोट नगरपालिका– ९ का ५४ वर्षीय तारापति रेग्मी र पोखरा उपमहानगरपालिका–२२ का ५० वर्षीय रमेश के.सी. रहेको छ ।
घाइतेहरुको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । हाईस चालक वालिङ नगरपालिका–६ स्याङ्जाका ३७ वर्षीय शेखर कोइरालालाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।