भदौ २१
पाल्पा, आज नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज। महादेवको पूजा आराधना गरी मनाइँदैछ । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ ।
अघिल्लो दिन पोषणयुक्त दर खाएर बसेका नारीहरूले तिजका दिन पानी समेत नपिई आफू, आफ्ना सन्तान र पतिको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै निराहार ब्रत बस्ने चलन छ । परापूर्वकालमा माता पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन निराहार ब्रत बसेको र कामना पूरा भएको धार्मिक विश्वाससाथ अविवाहितले राम्रो पति पाउन र विवाहीताहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै व्रत बस्ने चलन छ ।
आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।गत वर्ष तीजका दिन बिहानै नुहाइ धुवाइ गरेर भगवान शिवको पूजा आराधना गर्दै नाचगान र रमाइलो गर्ने गरिन्छ । पशुपतिलगायतका देशभरका शिवालयहरूमा आज श्रद्धालुहरुको भिड लाग्ने गर्दछ ।
विहिबार दरखाने दिनसँगै औपचारिक रुपमा शुरु हुने तीज ऋषिपञ्चमीसम्म चार दिन मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी सप्तऋषिको पूजा गरेर तीज सकिन्छ । तीजको अघिल्लो दिन हिजो दर खाइएका छन् ।तीजको अवसरमा नेपाली नारीले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतमार्फत पोख्ने गर्छन् ।