दुर्गेश मल्ल
भदौ २२ ।
पाल्पा, ज्योति पुञ्ज युवा क्लव रामपुर नगरपालिका–७ पाल्पाले दोस्रो ज्योति पुञ्ज कप सञ्चालन गर्ने भएको छ । क्लवको २८ औं वार्षिक उत्सवको अवसरमा ज्योति पुञ्ज कप फुटबल प्रतियोगिता आगामी कार्तिक ०४ देखि १० गते सम्म सञ्चालन गर्ने भएको हो ।
क्लवले शनिबार जनप्रतिनिधि, राजनैतिक दल, उद्योग वाणिज्य संघ, क्लवका सल्लाहाकार लगाएत सरोकारवालाहरु संग सुझाव संकलन तथा अन्तरक्रिया गरी प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । क्लव अध्यक्ष सुदिप गौतमको अध्यक्षतमा भएको कार्यक्रम लुम्बिनी प्रदेशका उद्योग अर्थ तथा पर्यटन समितिका सभापति एवं प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । ज्योतिपुञ्ज युवा क्लवले रामपुर नगरको खेलकुद, स्वास्थ्य, शिक्षा लगाएतका क्षेत्रमा दिएको योगदान प्रशंसनिय रहेको बताउनुभयो । उहाँले रामपुर नगर भित्र खेलकुदका गतिविधि सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणका लागि प्रतिवद्ध भएर लागेको बताउनुभयो । साथै प्रतियोगिता सञ्चालनका लागि आवश्यक साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले रामपुरमा पछिल्लो समय खेलकुदका गतिविधि बढ्दो क्रममा रहेको बताउँदै खेल पूर्वाधार निर्माणका लागि नगरले डिपिआर तयार गरेर सम्बन्धित निकायमा पेश गरेको जानकारी दिनुभयो । नगरले सिमित स्रोत र साधनका विच पनि युवा तथा खेलकुदको क्षेत्रमा लगानी गर्दै आएको बताउनुभयो । उहाँले प्रतियोगिता सञ्चालनको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
रामपुर नगरपालिका ७ का वडा अध्यक्ष दोवराज तिवारीले क्लवले उत्कृष्ट कार्य गर्दै आएको बताउँदै प्रतियोगिता सञ्चालनमा सबैको साथ र सहयोग रहने बताउनुभयो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले रामपुर नगर भित्र हुने प्रतियोगिताले नगरको खेलकुद क्षेत्रमा मात्र नभै पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा पनि टेवा दिने बताउनुभयो । कार्यक्रममा रामपुर नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेन, क्लवका सल्लाहाकार राजेन्द्र बास्तोलाले पनि आफ्नो धारणा राख्नु भएको थियो ।
क्लवका सल्लाहाकार धु्रर्व पोखरेलले क्लवको विगतको इतिहास र क्लवको गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा क्लवका अध्यक्ष सुदिप गौतमले कार्यक्रमको बारेमा सरोकारवालाहरुलाई जानकारी गराउनु भएको थियो । क्लव स्तरीय प्रतियोगितामा नेपालका उत्कृष्ट १० क्लवहरुको सहभागीता रहने जानकारी गराउनुभयो । उहाँका अनुसार विजेता समुहले नगद ३ लाख र उपविजेता समुहले १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको संरक्षकमा रामपुर नगरपालिका, समन्वय एवं सहयोगि संस्थाका रुपमा लुम्बिनी प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति–पाल्पा, नगर खेलकुद विकास समिति–रामपुर नगरपालिका, पाल्पा र जिल्ला फुटबल संघ,उद्योग बाणिज्य संघ रामपुर रहने जानकारी दिनुभयो ।
ज्योति पुञ्ज युवा क्लबको खेलमैदान किसान बारीमा हुने प्रतियोगिता सञ्चालनका लागि २५ लाख बढी खर्च हुने अनुमान गरिएको छ । किसानबारी योगहलमा भएको कार्यक्रमको सञ्चालन क्लवका सल्लाहाकार कृष्ण पौडेलले गर्नु भएको हो ।