असोज ४ ।
पाल्पा, आगामी कार्तिक ४ देखि १० गते सम्म रामपुरमा हुन गैरहेको दोस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता अवधीभर रक्तदान कार्यक्रम हुने भएको छ । ज्योति पुञ्ज युवा क्लव रामपुर–७ पाल्पाले २८ औं वार्षिक उत्सवको अवसर सञ्चालन गर्न गैरहेको प्रतियोगिताको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
क्लवले रोटरी क्लव अफ रामपुर, लायन्स क्लव अफ रामपुर, नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखा र रामपुर जेसिजको सहकार्यमा प्रतियोगिता संगै रक्तदान पनि सञ्चालन गर्ने जनाएको छ । क्लवका अध्यक्ष सुदिप गौतमले ७ दिन सम्म सञ्चालन हुने प्रतियोगिता अवधीभर कार्यक्रम स्थल किसानबारी खेल मैदानमा रक्तदान कार्यक्रम गरिने जानकारी दिनुभयो । खेल अवलोकनका लागि आउने रक्तदान गर्न इच्छुक व्यक्तिहरु मर्फत रगत संकलन गर्नका लागि कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘खेलकुद संगै पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता सञ्चालन गर्न लागिरहेको सन्दर्भमा कुनै पनि विरामीले रगतको अभावमा झेल्न नपरोस भन्ने भावका साथ प्रतियोगिता संगै रक्तदान पनि सञ्चालन गर्न लागेका हौं ।’ कार्यक्रममा रक्तदान गर्न इच्छुक योग्य व्यक्तिहरुले रक्तदान गर्न सक्नेछन् । ज्योतिपुञ्ज कपको अवसरमा विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा उजागर गर्न माध्यमिक तहको हाजिरजवाफ प्रतियोगिता पनि सञ्चालन गरिने क्लवका सचिव गोपाल बहादुर दमैले जानकारी दिनुभयो । नागानुमा मासाको जापान २०२४ को आर्थिक सहयोगमा क्लवले प्रतियोगिता सञ्चालन गर्न लागेको जनाएको छ ।
नेपालका उत्कृष्ट १० क्लवहरुको सहभागीता हुने प्रतियोगिताको तयारी तिव्रगतिमा भैरहेको उपाध्यक्ष उपाध्यक्ष सोम बहादुर श्रेष्ठले बताउनुभयो । ज्योतिपुञ्ज कपको विजेताले नगद ३ लाख ३ हजार ३३३ र उपविजेताले १ लाख ७७ हजार ७७७ प्राप्त गर्नेछ । प्रतियोगिताको संरक्षकमा रामपुर नगरपालिका, सहयोगी संस्थाहरुमा लुम्बिनी प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति–पाल्पा, नगर खेलकुद विकास समिति–रामपुर नगरपालिका, पाल्पा र जिल्ला फुटबल संघ,उद्योग बाणिज्य संघ रामपुर रहेको छ ।