दुर्गेश मल्ल
असोज ५ ।
पाल्पा, जापानीज नागरिक समाजसेवी काजुमासा काकिमी (ओके) बाजेको नागरिक अभिनन्दनका एवं सम्मान कार्यक्रमको तयारीको लागि रामपुरमा सरोकारवालाहरुको बैठक सम्पन्न भएको छ । आगामी कार्तिक ३ गते रामपुरमा हुन गैरहेको जापानीज नागरिक ओके बाजेको नागरिक अभिनन्दन तथा सम्मान कार्यक्रमको तयारीको लागि शनिबार जिल्लाका सरोकारवालाहरुको बैठक बसेको हो ।
काजुमासा काकिमी नागरिक अभिनन्दन एवं सम्मान मूल आयोजक समितिका अध्यक्ष भिमविश्व भट्टराईको अध्यक्षतामा भएको बैठकमा हाल सम्म भएका तयारीकोे समिक्षा संगै कार्यक्रम सफल पार्नको लागि थप रणनीति निर्माणको विषयमा छलफल भएको थियो । बैठकको उद्देश्य माथि मुलआयोजक समितिका अध्यक्ष भिमविश्व भट्टराईले जानकारी गराउनु भएको थियो । वरिष्ठ जापानीज समाजसेवी काजुमासा काकिमी अोके बाजेले बैठकमा आफ्नो भनाई राख्नु भएको थियो । मूल आयोजक समितिका सदस्य एवं कालीगण्डकी आँखा उपचार केन्द्रका प्रमुख सुन्दर रानाले कार्यक्रमको लागि हाल सम्म भएको तयारीका विषयमा जानकारी गराउँदै जिल्लाका विभिन्न पालिका प्रमुख सँग भेटघाट तथा ओकेबाजे मिटेरी पार्क व्यवस्थापनको कार्य भैरहेको बताउनुभयो । उहाँले विभिन्न संस्कृति झल्काउने झाँकीको समेत तयारी भैरहेको जानकारी दिनुभयो ।
बैठकमा रामपुर नगरपालिका ४ का वडा अध्यक्ष राम बहादुर राना, वडा नं. ७ का वडा अध्यक्ष दोवराज तिवारी, मुलआयोजक समितिका सचिवालय सदस्य दमन सिं पाटा, शहीद बहुमुखी क्याम्पसका प्रमुख मुरारी प्रसाद काफ्ले र रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्सालले सामाजिक व्यक्तित्व ओके बाजेले समाजमा दिनु भएको योगदान महत्वपूर्ण रहेको र उहाँको सम्मानमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । कार्यक्रमका तानसेन नगरपालिका संयोजक सुन्दर श्रेष्ठ, रम्भा गाउँपालिका संयोजक खुम बहादुर पौड्याल, पूर्वखोला गाउँपालिका संयोजक हरि प्रसाद न्यौपाने, निस्दी गाउँपालिका संयोजक चित्र सिं आलेले आफ्ना पालिकामा अभिनन्दन कार्यक्रमका लागि भएका तयारीको बारेमा जानकारी गराउनु भएको थियो ।
ज्योतिपुञ्ज युवा क्लवका अध्यक्ष सुदिप गौतमले ओकेबाजे अभिनन्दन संगै दोस्रो ज्योतिपुञ्ज कप मिलेर कार्यक्रम गर्ने बताउनुभयो । उहाँले प्रतियोगितालाई व्यवस्थित गर्नका लागि प्याराफिट समेत निर्माण गर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन मुलआयोजक समितिका सचिव लेखनाथ शर्मा मरासिनीले गर्नु भएको हो ।
कालीगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टर, रामपुरको सभाहलमा भएको कार्यक्रममा मूल आयोजक समितिका पदाधिकारी, सदस्य, सल्लाहकार ज्युहरु, सचिवालय समिति, पालिका संयोजक, पत्रकार र अन्य सरोकारवाला व्यक्ति व्यक्तित्वको उपस्थिती रहेको थियो । जापानीज नागरिक काजुमासा काकिमी ओके बाजेले शिक्षा, स्वास्थ्य तथा खेलकुद लगाएतका सामाजिक क्षेत्रमा दिएको योगदानको उच्च सम्मान गर्दै पाल्पालीले अभिनन्दन गर्न लागेको हो ।