असोज ६ ।
पाल्पा, आगामी कार्तिक ४ गते देखि रामपुरमा हुन गैरहेको दोस्रो ज्योतिपुञ्ज कपलाई व्यवस्थित बनाउन उपसमिति गठन भएको छ । क्लवका पदाधिकारी एवं सरोकारवाला संघ संस्थाहरुको बैठकले विभिन्न ९ वटा उपसमिति गठन गरेको हो ।
ज्योति पुञ्ज युवा क्लव रामपुर–७ पाल्पाले २८ औं वार्षिक उत्सवको अवसरमा कार्तिक ४ देखि १० गते सम्म सञ्चालन गर्न गैरहेको फुटबल प्रतियोगिता तथा विविध कार्यक्रमको लागि उपसमिति गठन गरेको हो । बैठकले खेल संयोजकमा अनिल शाही, ग्राउण्ड तथा मञ्च व्यवस्थापन उपसमितिमा सरोज श्रेष्ठ, हाजिर जवाफ प्रतियोगिताको उपसमिति संयोजकमा रमेश पोखरेल, सांस्कृतिक कार्यक्रम संयोजकमा खुम सारु, अतिथी स्वागत सत्कार उपसमिति संयोजकमा सोम प्रसाद श्रेष्ठ, रक्तदान कार्यक्रम संयोजकमा मनोरथ भट्टराई, मायाँको चिनो तथा प्रमाणपत्र निर्माण उपसमिति संयोजकमा रुपनाथ गौतमलाई चयन गरेको छ ।
त्यस्तै स्वंयसेवक व्यवस्थापन उपसमिति संयोजकमा लक्ष्मण राना र पास व्यवस्थापन उपसमितिमा हरि बहादुर ज्ञावलीलाई चयन गरेको क्लवका अध्यक्ष सुदिप गौतमले जानकारी दिनुभयो । नेपालका उत्कृष्ट १० क्लवहरुको सहभागीतामा प्रतियोगिता हुँदैछ । प्रतियोगिताको अवसरमा रोटरी क्लव अफ रामपुर, लायन्स क्लव अफ रामपुर, नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखा र रामपुर जेसिजको सहकार्यमा रक्तदान कार्यक्रम र नागानुमा मासाको जापान २०२४ को आर्थिक सहयोगमा हाजिरजवाफ प्रतियोगिता हुँदैछ ।
रामपुर नगरपालिकाको संरक्षण, लुम्बिनी प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति–पाल्पा, नगर खेलकुद विकास समिति–रामपुर नगरपालिका, पाल्पा र जिल्ला फुटबल संघ,उद्योग बाणिज्य संघ रामपुरको समन्वय तथा सहयोगमा हुने फुटबल प्रतियोगिताको विजेताले नगद ३ लाख ३ हजार ३३३ र उपविजेताले १ लाख ७७ हजार ७७७ प्राप्त गर्नेछ ।