पाल्पा, रामपुर नगरपालिकाले उपभोक्ता समिति र टोल विकास संस्थाहरुलाई अभिमूखिकरण प्रदान गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिका भित्र सञ्चालन हुने विभिन्न योजनाका उपभोक्ता समिति र टोल विकास संस्थाका पदाधिकारीहरुलाई योजना संचालन सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको हो ।
नगरपालिका भित्र सञ्चालन हुने वडा र नगर स्तरीय योजना कार्यन्वयन सम्बन्धी विभिन्न प्रक्रियाको बारेमा जानकारी सहित १० वटै वडामा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उपभोक्ता समिति र टोल विकास संस्थाका पदाधिकारीहरुलाई अभिमुखिकरणका क्रममा योजना निर्माणको प्रक्रिया,उपभोक्ता समिति गठन सम्बन्धी व्यवस्था,समितिको काम कर्तव्य र अधिकार,योजना अनुगमनको प्रक्रिया, प्राविधिक पक्ष,सम्झौता र भुक्तानी प्रक्रिया र आवश्यक कागजात लगाएतका विषयमा सहजिकरण गरिएको थियो ।यो आर्थिक वर्षका लागि तय गरेका योजना कार्यन्वयनका लागि सहज होस भन्ने उद्देश्यले नगरकापालिकाका सबै वडामा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो ।अभिमुखिकरण कार्यक्रमको सहजिकरण गर्दै प्रमुख प्रशासकीय अधिकृत पण्डितले नगरको विकासका लागि यो आर्थिक वर्षमा सञ्चालन हुने सबै योजना प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह समेत गर्नु भएको छ । यस्तै रामपुर नगरपालिकाका आन्तरिक लेखा परिक्षण अधिकृत हृदेश पन्थीले विधि र प्रक्रिया पुरा गरेर योजना सञ्चालन गर्नु पर्ने भन्दै योजना सम्पन्न भए पश्चात कुनै समस्या नहुने गरी काम गर्नु पर्नेमा जोड दिनुभयो ।
यस्तै ईन्जिनियर रञ्जन न्यौपानेले स्टमेट अनुसारको सामाग्रीको प्रयोग गरी स्तरीय काम गर्नु पर्ने भन्दै गुणस्तरीयतामा ध्यान दिन आग्रह गर्नुभयो । रामपुर नगरपालिकाका लेखा शाखा प्रमुख सिता न्यौपानेले योजना सम्पन्न भए पश्चात आवश्यक सबै कागजात पूरा गरेर मात्र भुक्तानीका लागि आउनु पर्ने बताउनुभयो । यस्तै योजना शाखा प्रमुख विक्रम बस्नेतले नगरपालिका र वडाले तय गरेका ३ सय ७४ वटै योजना समयमै सम्झौता गरी समयमै सम्पन्न गर्नु पर्नेमा जोड दिनुभयो । गत भदौ २४ गते देखि सञ्चालन गरिएको अभिमुखिकरण कार्यक्रमको सहजिकरण रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डित,आलेप अधिकृत हृदेश पन्थी, ईन्जिनियर रञ्जन न्यौपाने,लेखा शाखा प्रमुख सिता न्यौपाने र योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो ।
नगरपालिका भित्रका सबै वडा कार्यालयबाटै उपभोक्ता समिति र टोल विकास संस्थाका पदिधकारीहरुलाई योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको थियो । रामपुर नगरपालिकाले सबै वडा कार्यालयबाटै योजना सम्झौता संगै बैंक खाता खोल्ने भएको छ भने आवश्यकता अनुसार वडा कार्यालयबाटै योजनाको भुक्तानीको पनि गरिने नगरपालिकाले जनाएको छ ।