असोज १३ ।
पाल्पा, निस्दी गाउँपालिका पाल्पामा बालभित्ते पत्रिका प्रकाशन सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । बाल प्रतिभाको उजागर संगै बाल अधिकार सम्बन्धी सचेतना जगाउनका लागि आधारभूत तहका शिक्षक र विद्यार्थीलाई तालिम प्रदान गरेको हो ।
निस्दी गाउँपालिकाको आयोजनामा गत शुक्रबार देखि आइतबार सम्म भएको तालिमको आइतबार समापन गरिएको छ । बालमैत्री स्थानीय शासन सहजिकरण तथा कार्यान्वयन समितिका संयोजक एवं निस्दी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन अर्यालको अध्यक्षतामा भएको कार्यक्रम निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथी सारुले बालबालिकाको समस्या पहिचानमा बालबालिकाको सक्रियता महत्वपूर्ण हुने भन्दै बालभित्ते पत्रिकाले थप सहयोग गर्ने बताउनुभयो । उहाँले विद्यालय र पालिकाको कमीकमजोरीहरुको उत्थान गरी सकारात्मक सुझाव दिन अनुरोध गर्नुभयो । बालभित्ते पत्रिका प्रकाशनले व्यक्तिगत मात्र नभै विद्यालय र समाजको लागि महत्वपूर्ण टेवा दिने बताउनुभयो ।
संविधानले व्यवस्था गरेका बालअधिकारको बारेमा सचेतना जगाउनु स्थानीय सरकारको महत्वपूर्ण स्थान रहने भन्दै अध्यक्ष थापाले बालधिकारको प्रत्याभूति दिलाउन बालमैत्री स्थानीय शासन घोषणाको लागि अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । निस्दी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन अर्यालले बालबालिकाको लेखन सिप र सृजनशिलता प्रवद्र्धन गरी जनचेतनाको माध्यम बाट सचेतना जगाउन तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले बालअधिकारको विषयलाई बुलन्द गर्न तथा बालविवाह न्यूनिकरणमा सृजना र लेखनले सहयोग गर्ने बताउनुभयो । अधिकार र कर्तव्य पालना गर्दै अघि बढ्न बालबालिकालाई आग्रह गर्नुभयो । निस्दी गाउँपालिका शिक्षा शाखा संयोजक नर बहादुर थापाले बालभित्ते पत्रिका विद्यार्थीहरुको आवज बुलन्द्ध गर्ने माध्यम रहेको बताउँदै विद्यार्थीहरुलाई सक्रियताका साथ लाग्न आग्रह गर्नुभयो ।
प्रशिक्षक पत्रकार मिलन विश्वकर्माले तालिम सुरुवात मात्र भएको बताउँदै निरन्तर रुपमा अध्ययन गर्न आग्रह गर्नुभयो । बालमैत्री स्थानीय शासन घोषणाका लागि गाउँपालिकाले चालेको कदमको प्रशंसा गर्नु भएको थियो । अकला आधारभूत विद्यालयका शिक्षक गुम बहादुर बयम्बु र जनक आधारभूत विद्यालयका विद्यार्थी लक्ष्मी सिंह ठकुरीले तालिममा सिकेका कुरा विद्यालयमा लागु गर्ने प्रतिवद्धता जनाउनुभयो । निस्दी गाउँपालिकाका बालकल्याण अधिकारी कुस्माखर पाण्डेले विद्यालय तहमा बालभित्ते पत्रिका प्रकाशनका लागि गत वर्ष १२ वटा माध्यमिक विद्यालयलाई तालिम प्रदान गरिएको र आधारभूत तहका विद्यार्थीहरुलाई यस वर्ष तालिम प्रदान गरिरएको जानकारी दिनुभयो । बालभित्ते पत्रिकाले विद्यार्थीहरुलाई सृजनशिल बन्न र खोजी तथा अनुसन्धानमा महत्वपूर्ण सहयोग गरेको बताउनुभयो ।
तालिममा पत्रकार मिलन विश्वकर्मा र इमान सिं रानाले आधारभूत पत्रकारिता संगै बालभित्ते पत्रिका निर्माण र प्रक्रियाको बारेमा जानकारी दिनु भएको थियो । तालिममा निस्दी गाउँपालिका भित्रका १३ आधारभूत विद्यालयका १३ जना शिक्षक र २६ जना विद्यार्थीको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन निस्दी गाउँपालिकाका बालकल्याण अधिकारी कुस्माखर पाण्डेले गर्नु भएको हो ।