असोज १५ ।
पाल्पा, चाडपर्वलाई लक्ष्यित गरी इलाका प्रहरी कार्यालय रामपुर र अस्थायी ट्राफिक प्रहरी पोष्ट रामपुर पाल्पाले बेझाँड बजारमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको छ । गण्डकीवेशी क्षेत्रको मुख्य बजार रामपुर नगरपालिका–५, बेझाँड बजारमा मंगलबार यात्रु सहायता कक्ष स्थापना गरेको हो ।
प्रहरीले पर्वहरुको अवसरमा रामपुर भित्रिने र रामपुर बाट अन्य स्थान जाने यात्रुलाई पर्ने समस्या समाधान गर्न नमस्ते रामपुर यातायात प्रा.लि र रामसीता रामपुर यातायात प्रा.लिको समन्वयमा कक्षको स्थापना गरेको हो । यातायात समितिका पदाधिकारी, स्थानिय, सवारी चालक तथा सहचालक र पत्रकारहरुको उपस्थितिमा यात्रुसहायता कक्ष स्थापना गरिएको हो । कार्यक्रममा नमस्ते रामपुर यातायात प्रा.लि.का सञ्चालक भोजराज भट्टराई र रामसीता रामपुर यातायात प्रालिका वरिष्ठ उपाध्यक्षले शंकर बहादुर खाँणले यात्रुको सहायताको लागि कक्ष स्थापना हुनु खुशीको कुरा भएको बताउँदै पर्वको समयमा सहज रुपमा यात्रुलाई गन्तव्य सम्म पुर्याउन यातायात व्यवसायी प्रतिवद्ध भएर लागेको बताउनु भएको थियो ।
नेपालीहरुको महान चाड पर्व बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा सवारी साधनको चाप एवं यात्रुको आवतजावत बढ्दै जाने भएको सवारी साधनको चापलाई ब्यवस्थापन गर्न, यात्रुलाई परेको समस्या तत्काल समाधान गर्न र सवारी दुर्घटना न्युनिकरण गर्नका निमित्त यात्रु सहायता कक्ष स्थापना गरिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक राम बहादुर नेपालीले बताउनुभयो ।
चाडवाडको समयमा भाडाका कारण यात्रु ठगिने, यात्रुको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुने भएकाले सहायता कक्षको स्थापना गरिएको जानकारी दिनुभयो । बेझाँड बजार बाट काठमाडौ, बुटवल, तानसेन, पोखरा, नारायणगढ, कावासोती, वालिङ लगाएतका स्थानमा नियमित यातायात सेवा सञ्चालन हुँदै आएको छ । कार्यक्रमको सञ्चालन इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायव निरीक्षक कुल बहादुर घर्ति मगरले गर्नु भएको थियो ।