
असोज २५ ।
पाल्पा, गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले अदुवा प्रशोधन गरी चार टन भन्दा बढी जर्मनी निर्यात गरेको छ । पाल्पाको निस्दी गाउँपालिका–५ गल्धा स्थित सहकारीले आर्गानिक प्रमाणित गरेर गत वर्ष ४ हजार ४ सय ६० किलो प्रशोधित अदुवा निर्यात गरेको हो ।
पाल्पा, गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले अदुवा प्रशोधन गरी चार टन भन्दा बढी जर्मनी निर्यात गरेको छ । पाल्पाको निस्दी गाउँपालिका–५ गल्धा स्थित सहकारीले आर्गानिक प्रमाणित गरेर गत वर्ष ४ हजार ४ सय ६० किलो प्रशोधित अदुवा निर्यात गरेको हो ।
सहकारीले गल्धाका ७२ जना कृषकले लगाएको अदुवा आर्गानिक प्रमाणित गरेर प्रशोधन गरी एकोस्टा नेपालसँगको साझेदारीमा जर्मनी पठाएको हो । सरकारी तथा गैरसरकारी संस्थाको सहयोग प्राप्त अदुवा धुने, चाना पार्ने, सुकाउने, पिस्ने, प्याकेजिङ गर्ने मेसिन बाट २८ हजार केजी अदुवा प्रशोधन गरी प्रति केजी सात सय ५० रुपैयाँका दरले चार हजार ४६० केजी जर्मनी निर्यात गरिएको सहकारीका व्यवस्थापक दिलमाया सारुले बताउनुभयो । सहकारीले ३९ लाख ७६ हजार ९५३ रुपैयाँको लागतमा गत वर्ष ३९ हजार ८८५ केजी अदुवा खरिद गरेको थियो । २८ हजार केजी प्रशोधन गरेर र अन्य बाँकी काँचो अदुवा ४७ लाख ६८ हजार ३३३ रुपैयाँ विक्री गरिएको उहाँले जानकारी दिनुभयो ।
अदुवा युरोप समेत निर्यात भए संगै किसानमा हौसला बढेको सहकारीका अध्यक्ष अममायाँ मश्राङ्गीले बताउनुभयो । यस वर्ष बजार माग अनुसार सहकारीले प्रशोधित अदुवा १० हजार केजी र काँचो अदुवा २० हजार केजी विदेश पठाउने लक्ष्य लिएको जानकारी दिनुभयो । सहकारीले काँचो अदुवा विदेश पठाउनका लागि यस वर्ष हेफर इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पाको सहजीकरणमा ४२ रोपनीमा थप अदुवा लगाएको छ । सहकारी आफैले जग्गा लिजमा लिएर ३० रोपनीमा र समुह गत रुपमा १२ रोपनीमा अदुवा लगाइएको मश्राङ्गीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले सम्म गल्धाको गेझा, बाङ्लाङ्ग र गाबुडाँडाका ७२ घरमा अदुवा आर्गानिक प्रमाणित गरेर प्रशोधन गर्दै आएका छौं । साविकको गल्धा गाविस भित्रको अदुवा आर्गानिक प्रमाणित गर्ने प्रक्रिया सुरु गरिएको छ ।” सहकारी संगको समन्वयमा अहिले आईएएलभिसी परियोजना सञ्चालनमा रहेको छ । परियोजना मार्फत आर्गानीक अदुवाको उत्पादन र उत्पादकत्व वृद्धिका लागि कृषकलाई आवश्यक प्राविधि सहयोग प्रदान गर्दै आएको परियोजनाका संदेश खनालले जानकारी दिनुभयो ।
सहकारीले तीन वर्ष अघि देखि अदुवा प्रशोधन गर्दै आएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा ५३२ केजी प्रशोधित अदुवा अन्नपूर्ण सप्लायर्स कपिलवस्तु मार्फत बजारमा पठाएको थियो । आर्थिक वर्ष २०७९/०८० मा आर्गानिक प्रमाणित गरेर ८ सय ५ केजी नमुना परीक्षणका लागि युरोप पठाएको थियो । लुम्बिनी प्रदेश सरकार, संघीय र स्थानीय तहका साथै हेफर नेपालको सहयोगमा सहकारीमा प्रशोधन उद्योगका लागि झन्डै ८० लाख खर्च भइसकेको छ ।