कार्तिक ५ ।
पाल्पा, आठौँ संस्करणको मण्डली कप आगामी कार्तिक २१ गते देखि हुने भएको छ । मण्डली कप अन्तर्गत हुन गैरहेको खुल्ला क्लव स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोेगितामा आगामी कार्तिक २१ गते देखी २४ गते सम्म हुने आयोजक मण्डली स्पोर्ट्स क्लबले जनाएको छ ।
प्रतियोेगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीहरु बिच प्रतिष्प्रर्धा हुनेछ । प्रतियोगितामा क्लव मार्फत जुनसुकै स्थानका खेलाडीहरु पनि प्रतियोगितामा प्रतिस्प्रर्धाको अवसर पाउने मण्डली स्पोर्ट्स क्लबका अध्यक्ष अनन्त प्रसाद श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा विभागिय टोली बाहेक अन्य जुनसुकै क्लवले प्रतिस्पर्धा गर्न सक्नेछ । विभागिय क्लवका खेलाडी अन्य क्लवमार्फत प्रतियोगितामा सहभागी हुन पाउने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुष भलिबल तर्फ ६ टिम सहभागी हुनेछन् भने महिलातर्फ ४ टिमबीच प्रतिस्पर्धा हुनेछ ।प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी पनि समावेश हुनेछन् । पुरुष भलिबल प्रतियोगिता तर्फ विजेता हुने समूह प्रथम, द्वितिय, तृतिय र सान्त्वनाले क्रमशः नगद १ लाख ५० हजार, १ लाख, ७० हजार र ३५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै वेष्ट प्लेयरलाई ५ हजार, वेष्ट स्पाईकर २ हजार, वेष्ट डिफेन्सर २ हजार, वेष्ट सेटर २ हजार, वेष्ट सर्भर २ हजार, वेष्ट ब्लकर २ हजार पुरस्कार रहेको क्लवका सचिव कृष्ण प्रसाद पंगेनीले बताउनुभयो ।
महिलातर्फ विजेता हुने समूह प्रथम, द्वितिय, तृतिय र सान्त्वनाले क्रमशः नगद ३० हजार, २० हजार, १० हजार र ५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । वेष्ट प्लेयरलाई २ हजार, वेष्ट स्पाईकर १ हजार, वेष्ट डिफेन्सर १ हजार, वेष्ट सेटर १ हजार, वेष्ट सर्भर १ हजार, वेष्ट ब्लकर १ हजार पुरस्कार रहेको क्लवले जनाएको छ । प्रतियोगितामा दर्ता सहित खेलाडीहरुलाई खाना र बासको निःशुल्क व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गतका खेलहरु मण्डली स्पोर्ट क्लवको खेल मैदान सिलुवामा हुनेछ । क्लवले प्रतियोगिताको बारेमा तानसेनमा पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, खेलकुद पत्रकार मञ्च पाल्पाका अध्यक्ष माधव अर्याल लगायतले प्रतियोगिताले जिल्लाको खेलकुद पर्यटनको विकासमा टेवा दिने बताउनुभएको थियो । उहाँहरुले प्रतियोगिता सफल बनाउन सबैले एकजुट भएर सहयोग गर्नुपर्नेमा जोड दिनु भएको थियो । प्रतियोगितामा स्थानीय कलासंस्कृतिको प्रस्तुती, स्थानीय कौडा नाच, राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत रहने छ ।