आठौँ मण्डली कपको उपाधि साविक विजेता निस्दीलाई

कार्तिक २५ ।
पाल्पा, पूर्वखोला गाउँपालिका–१, सिलुवामा सम्पन्न आठौँ मण्डली कपको उपाधि साविक विजेता निस्दी खेलकुद विकास समिति पाल्पाले जित्न सफल भएको छ । मण्डली स्पोर्टस् क्लवको आयोजना र पूर्वखोला गाउँपालिकाको सहआयोजनामा भएको क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाईनल खेलमा मणिमुकुन्द भलिबल क्लव रुपन्देही पराजित गर्दै निस्दीले आठौँ संस्करणको उपाधी जितेको हो ।

शनिबार भएको फाईनल खेलमा निस्दीले मणिमुकुन्दलाई ३-२ सेट अन्तरले पराजित गरेको थियो । खेलको पहिलो, तेस्रो र पाँचौ सेटमा निस्दीले २७–२५, २५–१९ र १५–८ अंक सहित जित निकालेको थियो । दोस्रो र चौथो सेट ३१–२९ र २५–१७ अंक सहित मणिमुकुन्दले हात पारेको थियो । यस संगै मणिमुकुन्द द्वितिय स्थानमा सिमित भएको छ । त्यस्तै प्रतियोगितामा बर्दले भलिबल क्लब रामपुर १० तृतीय भएको छ । तृतिय स्थान छनौटको खेलमा जिल्ला भलिबल संघ पाल्पालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

बर्दलेले पहिलो, दोस्रो र तेस्रो सेट २५-१०, २५-२१ र २५-२२ अंक सहित जितेको थियो । महिला भलिबल प्रतियोेगितामा वालिङ भलिबल क्लव स्याङ्जा प्रथम, स्टेप रामपुर द्वितिय, निस्दी खेलकुद विकास समिति तृतिय र हिमालयन टाईगर भलिबल क्लव चितवन सान्त्वना भएको छ । महिला भलिबलको स्थान अंक तालिकाको आधारमा निर्धारण गरिएको थियो ।

पुरुष भलिबल प्रतियोगिता तर्फको विजेता समूह प्रथम, द्वितिय, तृतिय र सान्त्वनाले क्रमशः नगद १ लाख ५० हजार, १ लाख, ७० हजार र ३५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । साथै वेष्ट प्लेयरलाई ५ हजार, वेष्ट स्पाईकर २ हजार, वेष्ट डिफेन्सर २ हजार, वेष्ट सेटर २ हजार, वेष्ट सर्भर २ हजार, वेष्ट ब्लकर २ हजार पुरस्कार प्रदान गरिएको छ । महिलातर्फ विजेता हुने समूह प्रथम, द्वितिय, तृतिय र सान्त्वनाले क्रमशः नगद ३० हजार, २० हजार, १० हजार र ५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । वेष्ट प्लेयरलाई २ हजार, वेष्ट स्पाईकर १ हजार, वेष्ट डिफेन्सर १ हजार, वेष्ट सेटर १ हजार, वेष्ट सर्भर १ हजार, वेष्ट ब्लकर १ हजार पुरस्कार प्रदान गरिएको क्लवले जनाएको छ ।

प्रतियोगिताको पुरस्कार वितरण राष्ट्रिय कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम सहित गरिएको थियो । मण्डली स्पोर्ट्स क्लबका अध्यक्ष अन्त प्रसाद श्रेष्ठको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग, पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । विजेता समुहलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथी श्रेष्ठले जिल्लाको पूर्वी क्षेत्रलाई भलिबलको माध्यम बाट चिनाउन मण्डली स्पोर्टस् क्लवले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । उहाँले भलिबल ग्रामीण क्षेत्रको भुगोल सुहाउँदो खेल भएको बताउँदै पूर्वी क्षेत्रलाई भलिबलको हबको रुपमा विकास गर्न पहल गर्ने बताउनुभयो ।

पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले गाउँपालिकाले खेलकुदको विकासका लागि सिमित स्रोत र साधनका विच आफ्नो तर्फ बाट निरन्तर प्रयास गर्दै आउको बताउनुभयो । कार्यक्रममा पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, नेपाल भलिबल संघका केन्द्रिय उपाध्यक्ष भिम ओलीले शुभाकामना मन्तव्य राख्नु भएको थियो । सांस्कृतिक कार्यक्रममा लोकदोहोरी गायक श्याम राना, रामेश्वर ढकाल, गायिका लालुमाया पुन, गायक विनोद अर्याल, तोया वि.क. सहित स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो । पूर्वखोला भलिबल संघका सचिव नविन आचार्यको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन क्लवका सचिव कृष्ण प्रसाद पंगेनीले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?