मंसिर ११ ।
पाल्पा, डेंगी रोग संक्रमण तथा रोकथाम सम्बन्धी सचेतना कार्यक्रम एवं खोज र नष्ट गर अभियान अन्तर्गत रामपुरमा कार्यक्रम सम्पन्न भएको छ । साविक रामपुर गा.वि.स भित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई डेंगी रोग रोकथाम सम्बन्धी सचेतना प्रदान गरिएको हो ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा रामपुरको आयोजनामा रामपुर नगरपालिकाको सभाहलमा मंगलबार कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले पछिल्लो केही वर्ष यता डेंगी रोगको संक्रमण बढ्दो अवस्थामा रहेकाले यसको नियन्त्रणका लागि सबै सचेत हुन आवश्यक रहेको बताउनुभयो । सामान्य हेलचेक्रयाईका कारण डेंगीको संक्रमण बढ्ने र ज्यानै समेत लिन सक्ने भएकाले सचेतना अपनाउनु पर्ने बताउनुभयो । छिटो र सरल तरिकाले प्रत्येकको घर घरमा डेंगी सम्बन्धी सचेतना फैलाउन महिला स्वयंसेविकाको महत्वपूर्ण भूमिका हुने बताउनु भयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रामपुरका पूर्व सभापति देवराज ढकालले हरेक नागरिकको घरको डाक्टर महिला स्वास्थ्य स्वयंसेविका भएकाले डेंगीको नियन्त्रण र मानिसको ज्यान जाने जोखिमबाट बचाउन लामखुट्टेको बासस्थान नष्ट गर्न सचेत गराउनु पर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै रामपुर अस्पतालका डाक्टर सुनिल कुमार दासले डेंगी लाग्न नदिन लामखुट्टेको टोकाईबाट बच्नुको विकल्प नभएको बताउनुभयो । उहाँले डेंगीको संक्रमण, यसको प्रभाव, नियन्त्रण तथा बच्ने उपाय लगाएतका विषयमा सहजिकरण गर्नु भएको थियो ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा रामपुरका सभापति मनोरथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसईटी जिल्ला शाखाका उपमन्त्री कमलराज भट्टराईको स्वागतबाट सुरु भएको कार्यक्रम उपशाखा रामपुरका कोषाध्यक्ष दुर्गा प्रसाद भट्टराईको धन्यवाद ज्ञापन र सचिव तिल बहादुर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको हो ।