मंसिर २४ ।
पाल्पा, विपद् व्यवस्थापन सम्बन्धी दुई दिने आधारभूत तालिम बगनासकालीमा सोमबारबाट सुरु भएको छ । बगनासकाली गाउँपालिकाको स्थानीय स्काउट समितिको आयोजनामा तालिम सञ्चालन भएको हो ।
तालिममा बगनासकाली गाउँपालिका भित्रका स्थानीय स्काउट समितिका आयुक्तहरू, शिक्षक लगायत स्काउटमा आवद्ध सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको छ । शसस्त्र प्रहरी बल ५ नं. गुल्म हेड क्वाटरका प्रमुख श्याम संगती महर्जन लगायतको टोलीले तालिममा सहजीकरण गरिरहेको छ । तालिम मंगलबारसम्म चल्ने आयोजकले जनाएको छ ।
<span;>सोमबार गाउँपालिका सभाहलमा आयोजित उद्घाटन समारोहमा पाल्पा क्षेत्र नं. २ का सांसद ठाकुर गैरेले तालिमपश्चात् तयार हुने जनशक्तिले सम्भावित विपद् व्यवस्थापनको क्षेत्रमा आफ्नो सीपको प्रयोग गर्न सक्ने भन्दै विपद्मा तत्काल उद्धार, उपचार र क्षतिपूर्तिको व्यवस्थापनमा आधारभूत तालिमले महत्त्वपूर्ण अर्थ राख्ने विचार व्यक्त गर्नुभयो । उहाँले तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई आ–आफ्नो कार्यक्षेत्रमा जिम्मेवारीपूर्वक त्रुटीरहित ढंगबाट कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्थानिय स्काउट समितिका प्रमुख संरक्षक एवम् गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले विगतमा विद्यालय तहमा प्राथमिक उपचार तालिम, महिला स्वास्थ्य स्वय्म सेवीलाई समेत सञ्चालन गरिएको स्मरण गर्दै विपद् जोखिम न्यूनीकरणमा आधारभूत तालिमले सहयोग पुग्ने धारणा राख्नुभयो । उपाध्यक्ष हरिप्रसाद पाठकले स्काउट नीति, सिद्धान्त कार्यक्रमको महत्त्वको अभ्यासका साथ स्थानीय स्काउट समिति अगाडि बढिरहेको जानकारी गराउनुभयो । उहाँले बगनासकाली गाउँपालिका भित्रका सवै विद्यालयमा स्थानीय स्काउट समिति गठनसँगै सक्रियता बढ्नुले स्थानीय स्काउटको महत्त्व बढ्दै गएको बताउनुभयो ।
सोही अवसरमा जनगायक जीवन शर्माले मातृभूमिको महिमा समेटिएको जनमैत्री गीत प्रस्तुत गर्नुभएको थियो । गायक शर्मालाई बगनासकाली गाउँपालिकाले सम्मान सहित मायाको चिनो प्रदान गरेको थियो । स्थानीय स्काउट समितिको प्रमुख आयुक्त दयाराज न्यौपानेको अध्यक्षता, शिक्षा शाखा प्रमुख गुनाराम खनालको स्वागत र स्थानीय स्काउट समितिका आयुक्त ओमप्रकाश न्यौपानेको सञ्चालनमा उद्घाटन समारोह भएको थियो ।
तालिमको उद्घाटन समारोहमा बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्रवक्ता, कार्यपालिका सदस्य, जनप्रतिनिधि, विभिन्न विषयगत शाखा प्रमुख, कर्मचारी र सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।